काठमाडौँ, २९ चैत ।
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले एमाले र माओवादी केन्द्र वैशाख ९ गते पार्टी एकता गर्ने बारे औपचारिक निर्णय भइनसकेको खुलासा गर्नुभएको छ ।
रिपोर्टस क्लबमा आज आयोजित कार्यक्रममा उहाँले दुई पार्टीका कार्यदलले बुझाएको प्रतिवेदनलाई एकता संयोजन समितिले निर्णय गरेपछि पार्टी एकताको मिति घोषणा गरिने बताउनु भयो ।
उहाँले पार्टी एकतापछि नेतृत्वको व्यवस्थापन कसरी गर्ने भन्ने मुख्य मुद्धामा छलफल नै बाँकी रहेको बताउनुभयो ।
उहाँले नेतृत्वको विषयमा छलफल गर्न बाँकी रहेकोले नै बैठक लम्बिएको हुनसक्ने जानकारी दिनुभयो । उहाँले सत्ता पक्ष र प्रतिपक्ष मुलुकलाई समृद्धि तर्फ लैजानका लागि एक साथ हिँड्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
भारतबाट नेपालको सीमाना क्षेत्रमा मात्र रेलमार्ग ल्याउने कुरा मान्य नभएको भन्दै उहाँले पहाड क्षेत्रमा रेलमार्ग विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
नेता रावलले भारतले विराटनगरमा स्थापना गरेको महावाणिज्य दूतावास कार्यालय तत्काल हटाउनुपर्ने भन्दै सन् १९५० को सन्धि र महाकाली सन्धि पुनरावलोकन गर्नुपर्ने धारणा राख्नुभयो ।