काठमाडौं, चैत २७ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुख नियुक्तिका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक आजै बस्दै छ ।
बिहान बसेको मन्त्रिपरिषद् बैठकले दुवै प्रहरीको आईजीपी टुंगो लगाउन नसकेपछि फेरि अहिले आकस्मिक बैठक बस्न लागेको हो ।
नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याल र सशस्त्रका महानिरीक्षक प्रमुख सिंहबहादुर श्रेष्ठको कार्यकाल भोलि सकिँदैछ । कार्यकाल सकिनुअघि नै आईजीपी नियुक्त गर्नुपर्ने भएकाले नाम टुंगो लगाउन आजै मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।
नेपाल प्रहरीमा वरियताका क्रममा पहिलो नम्बरमा डीआइजी सर्वेन्द्र खनाल छन् भने सशस्त्र तर्फ शैलेन्द्र खनाल छन् । तर नेपाल प्रहरीमा सँगैको दाबेदार रहेका रमेश खरेल, पुष्कर कार्की र धिरु बस्नेत पनि आईजीपीको दौडमा छन् ।
प्रधानमन्त्री ओली रमेश खरेललाई आईजीपी बनाउन तयार भएको बताइन्छ । दोस्रो वरियतामा रहेका रमेश खरेलको उमेर हदका कारण आईजिपी बनेपछि ११ महिना मात्रै रहने र त्यसपछि सर्वेन्द्र खनाल प्रमुख बन्न सक्ने तर्क गर्दै प्रधानमन्त्री ओलीले खनाललाई पछि हटाउन खोजेको श्रोतको दावी छ ।
तर मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रामबहादुर थापा बादलसँग आईजीपी नियुक्तिका विषयमा नाम टुंगो लगाउन छलफल गर्नुभएको छ ।