काठमाडौं, चैत २७ ।
सरकारले विद्यालयमा विद्यार्थी भर्ना संख्या वृद्धि गर्न ‘एक व्यक्ति, एक भर्ना’ अभियानलाई सघाउन आग्रह गरेको छ ।
आज बिहान बसेको मन्त्रिपरिषद बैठकले सरकारले ल्याएको ‘एक व्यक्ति, एक भर्ना’ अभियानलाई सघाउन सबैमा आग्रह गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाका अनुसार बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव राजीव गौतमलाई कानुन मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको छ ।
गौतमको स्थानमा डिल्लीराज घिमिरेलाई सचिवमा बढुवा गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरुवा गर्ने निर्णय भएको उहाले बताउनु भएको छ ।
बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको महानिरीक्षक नियुक्तिबारे निर्णय गर्ने अपेक्षा गरिए पनि त्यस विषयमा छलफल नभएको बताइएको छ । मन्त्रिपरिषदको अर्को बैठकले महानिरीक्षक नियुक्तिबारे निर्णय गर्ने भएको छ ।
प्रहरी महनिरीक्षक प्रकाश अर्याल र सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठको पदावधि चैत २८ गते सकिदैंछ । अब बस्ने मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्षमा नियुक्ति गर्ने अपेक्षा गरिएको छ ।