काठमाडौँ २६ चैत्र ।
सरकारले केही दिनअघि जारी गरेको श्वेतपत्रलाई प्रतिपक्षी नेपाली कांग्रेसले अबौद्धिक र अव्यवसायिक रहेको ठहर गरेको छ ।
श्वेतपत्रबारे कांग्रेसले आज २४ बूँदे आलोचना सार्वजनिक गर्दै अर्थतन्त्रको सकारात्मक पाटोहरु नजर–अन्दाज गरेर सरकारले कमजोरीलाई मात्र अतिरञ्जनापूर्ण प्रस्तुत गरिएको बताएको छ ।
श्वेतपत्रले सिर्जना गरेको भ्रम चिर्नु आफूहरुको कर्तव्य रहेको भन्दै कांग्रेसले बितेको २५ वर्षमा ६२ गुणाले राजस्व वृद्धि भएको तथ्यलाई श्वेतपत्रमा कतै उल्लेख नभएकोमा आपक्ति समेत जनाएको छ ।
कम्युनिष्टहरुले कांग्रेसको अर्थनीति गलत छ भन्ने तर केही पपुलिस्ट कार्यक्रम गाँसेर कांग्रेसकै अर्थनीति पछ्याउने गरेको उसको निष्कर्ष छ ।
सानेपास्थित पार्टी कार्यालयमा आज पत्रकार सम्मेलन गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले निरासाजनक तथ्याङक मात्र श्वेत पत्रमा प्रस्तुत गरेको भन्दै सरकारले जारी गरेको श्वेत पत्रलाई लालपत्रको संज्ञा दिनुभयो ।
समस्त आर्थिक उपलव्धिलाई नकार्ने र शुन्यबाट समृद्धिको शुरुवात गर्न लागेको भन्दै जनतामा भ्रम स्थापित गर्न सरकारले श्वेतपत्र ल्याएको शर्माको आरोप थियो ।
विरासतमा धरायासी अर्थतन्त्र नेपाली कांग्रेसले छोडेको र आफूहरुले सम्हालेको भन्ने भोलिको चुनावी एजेण्डा स्थापित गर्ने मनोविज्ञानको जगमा वाम गठबन्धनको सरकार उभिएको प्रवक्ता शर्माद्वारा वितरित विज्ञाप्तिमा उल्लेख छ ।
सरकारले गत १६ गते आर्थिक सुचकांकहरु सवै नकारात्मक अवस्थामा रहेको, राज्यको ढुकुटी रित्तिएको लगायत तथ्याङ्क समेटेर श्वेतपत्र जारी गरेको थियो ।
यस्तै, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकाले प्रधानमन्त्री ओलीले प्रधानमन्त्री कार्यालयमा पार्टीका थिंक ट्याङ्क जम्मा गर्न थालेको आरोप लगाएको छ ।
सरकारले हालै जारी गरेको श्वेतपत्र र प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे धारणा राख्न आज पार्टी कार्यालयमा आयोजित कार्यक्रममा नेता प्रकाशशरण महतले एमाले थिङ्क ट्यांकको सल्लाहमा राजश्व र अनुसन्धान विभाग प्रधानमन्त्री मातहातमा तान्न लागेको बताउनु भएको हो ।
सरकारका महत्वपुर्ण निकायहरुमा पार्टी समर्थित कार्याकर्ताको भर्ती शुरु गरिएको कांग्रेसको आरोप छ ।