नेपालमा बढ्दो चीनीया लगानी र सम्बन्धको प्रभाव रोक्न भारतले घुमाउरो भाषामा ओलीलाई दवाव दिएको देखिएको छ ।
भारतीय सञ्चार माध्यमहरुमा प्रकाशित समाचार र स्वयं केपी शर्मा ओलीको टाईम्स अफ् ईन्डियाको अनलाईनमा प्रकाशित अन्तवार्तामा ओलीले नेपाल चीन तर्फ नढल्किएको भनी भारतलाई रिझाउन गरेको प्रयासले त्यसको स्पष्ट संकेत गरेको छ ।
हिन्दुस्तान सहित विभिन्न अखबारमा प्रकाशित समाचारमा भारतीय पक्षबाट नेपालमा चीनीया लगानीबाट बन्ने आयोजनाको बिजुली नकिन्ने भनेर भारतले नेपालमाथि दवाव दिएको छ ।
ओलीले आफ्नो तीन दिने भ्रमणका क्रममा नाकाबन्दीबारे कुरा नउठाएको, भारतको हित विपरीत नेपालमा जान नसक्ने र भारतसगँ जस्तो अरु मुलुकसगँ सम्बन्ध हुन नसक्ने भनी घुमाउरो भाषामा मोदीलाई समेत रिझाउने प्रयास गरेको बताईएको छ ।
ओलीको तीन दिने भ्रमणका क्रममा आज पनि विभिन्न भेटवार्ता हुदैछ ।
प्रधानमन्त्री ओली नयाँदिल्ली पुगेकै दिन शुक्रबार इन्डियन एक्सप्रेसले चीनले नेपालमा जलविद्युत् आयोजनाको बाँध बनाएमा त्यस्तो आयोजनाको बिजुली भारतले किन्न नसक्ने समचार छापेको छ। इन्डियन एक्सप्रेसले प्रधानमन्त्री ओलीको तस्बिरसहितको समाचार प्रथम पृष्ठमा छापेको छ। उसले ‘इफ चाइना बुल्ड युअर ड्याम, इन्डिया उड नट बाई इनर्जी’ शीर्षक दिएर एक कोलमको समचार लेखेको छ।
बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणमा दिल्ली र बेइजिङको तानातानको विषय पनि समाचारमा उल्लेख छ। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा उक्त आयोजना चीनको गेजुवालाई दिने निर्णय भएको थियो। शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि सो निर्णय रद्द गरिएको अखबारले उल्लेख गरेको छ।
१२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत् आयोजना चिनियाँ कम्पनीसँग खोसेर भारतीयलाई दिन लागेको समाचार भारतीय मिडियाहरुले गत कात्तिक २९ मा छापेका थिए। त्यस बेला टाइम्स अफ इन्डियाले भारतको सरकारी कम्पनी एनएचपिसीलाई बुढीगण्डकी आयोजना दिन चीनको गेजुवा गु्रप कर्पोरेसन (सिजिजिसी) लाई दिने समझदारी रद्द गरेको दाबी गरेको थियो। एनएचपिसी भारत सरकारको पूर्ण स्वामित्वको कम्पनी हो। नेपालमा भारतीय प्रभावकै कारण चिनियाँ कम्पनीसँगको सम्झौता खारेज गरी भारतीय कम्पनीलाई दिन लागेको समाचारमा उल्लेख थियो।
त्यस बेला लाइसेन्स दिने र अहिलेको खारेजी दुबै निर्णयमा भारत र चीनबीच दक्षिण एसियामा को हावी हुने भन्ने प्रतिस्पर्धा मुख्य कारक रहेको उल्लेख गरेको थियो। नेपालका ठूला हाइड्रो प्रोजेक्टहरुमा बेइजिङ ‘प्लेयर’का रुपमा देखिएको टिप्पणी पनि त्यसबेला उक्त पत्रिकाले लेखेको थियो।
अहिले फेरी प्रधानमन्त्री ओली भारत भ्रमणमा निष्केकै दिन त्यस्तै खालका समचारहरु भारतीय अखवारले लेख्न थालेका छन्।
शुक्रबार द हिन्दु र टाइम्स अफ इन्डियाले प्रधानमन्त्री ओलीको अन्तर्वार्ता छापेका छन्।