पोखरा, चैत २२ । प्रदेश नम्बर ४ को नामाकंन र राजधानी बारे सुझाव संकलन गर्न सांसदहरु जिल्ला जाने भएका छन् ।
प्रदेश नम्बर ४ को नामाकंन र राजधानी तोक्नका लागि बनेको सिफारिस समितिले नामांकनका बारेमा जिल्ला तहमा सरोकारवाला सहितको बैठक बसेर छलफल गर्ने निर्णय गरेको छ ।
चैत २८ गते पहिलो पटक कास्कीको जिल्ला समन्वय समितिमा छलफल गरेर बाँकी जिल्लामा छलफलको कार्यसूची तयार गर्ने समितिका सदस्य विन्दुकुमार थापाले जानकारी दिनुभयो ।
त्यसका लागि कास्की बाहेकका १० जिल्लालाई ३ वटा क्लष्टरमा विभाजन गरेर प्रतिनिधी समेत तोकिएको छ ।
पर्वत, म्याग्दी, बागलुङ र मुस्ताङमा समितिका सदस्यहरु दीपक कोइराला, सावित्रा राना, कृष्ण थापा र चन्द्रबहादुर बुढा छलफलमा जानेछन् ।
लमजुङ, गोरखा र मनाङमा सांसदहरु मधु अधिकारी, धनञ्जय दवाडी र हरिशरण आचार्य तथा नवलपुर, तनहूँ र स्याङजामा भगवत प्रकाश मल्ल, विन्दुकुमार थापा, मीनप्रसाद गुरुङ र सरिता गुरुङ लाई खटाउने निर्णय भएको थापाले जानकारी दिए ।
उनीहरुले छलफलमा उठेका नामबारे समितिमा एकीकृत गरेर छलफल गरी उपयुक्त नामहरु संसदसभामा प्रस्ताव गर्नेछन् ।
प्रदेश ४ को राजधानी पोखरा हुनेमा कुनै विवाद देखिएको छैन । तर प्रदेशको नामका बारेमा भने फरक फरक विचार आएका छन् । नामाकरण गर्न भौगोलिक अवस्थिति, जनचाहना, पहूँचको सुलभता, भौतिक संरचना लगायतका विषयमा जनताको पृष्ठपोषण लिएर संसदमा सुझाव पेश गर्नेछन् ।
प्रदेश ४ को नाम गण्डकी, गोरखा, सप्तगण्डकी, मुक्तिनाथ, अन्नपुर्ण, धौलागिरी, माछापुच्छ्रे र तमुवान–मगरात बढी चर्चामा छ ।