काठमाडौँ चैत्र २० ।,
प्रधानमन्त्री केपी ओलीले आसन्न भारत भ्रमणका क्रममा देशको शिर निहुरिने र लज्जाबोध हुने कुनै सहमति, सम्झौता नगर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
आजको प्रतिनिधिसभा बैठकमा भारत भ्रमणबारे जानकारी गराउँदै प्रधानमन्त्री ओलीले नेपालको हितविपरीत सहमति, सम्झौता नगर्ने प्रतिवद्धता गर्नुभएको हो ।
नेपाल अब विकासमा अगाडि बढ्ने भन्दै प्रधानमन्त्री ओलीले छिमेकीहरुसँग पनि पारस्परिक सहयोगपूर्ण सम्बन्ध कायम राख्नुपर्ने र आफ्नो भ्रमणलाई उपलब्धिमूलक बनाउन प्रयत्न गर्ने बताउनु भएको छ ।
भ्रमणका क्रममा भारतसँग नयाँ सन्धि, सम्झौताभन्दा पनि विगतका सम्झौताहरुलाई कार्यान्वयनमा जोड दिने प्रधानमन्त्री ओलीको भनाई थियो ।
प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल पर्सि भारतको नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रधानमन्त्रीको चैत २३ देखि २५ गते हुने भारत भ्रमण स्वीकृत गरिसकेको छ ।
बैठकले प्रधानमन्त्री ओलीसँगै ३ जना मन्त्रीहरु भारत भ्रमणमा जाने टुंगो लगाएको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद वाँस्कोटाले जानकारी दिनुभएको छ । उहाले मन्त्रीहरुको नाम भने पछि सार्वजनिक गरिने बताउनु भएको छ ।