काठमाडौ २० चैत्र ।
नेकपा एमाले र माओवादी केन्द्रबी पार्टी एकिकरणका लागि गठन गरिएको एकता संयोजन समितिको बैठक आज बस्दैछ ।
एमाले–माओवादीबीच एकताको संख्या अनुपात, ‘जनयुद्ध’ शब्द र चुनाव चिह्नमा समान धारणा निर्माण हुन नसकिरहेका बेला दुवै दलका शिर्ष नेता सम्मिलित समितिको बैठक बस्न लागेको हो ।
अपरान्न ४ बजेपछि बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बस्ने बैठकमा राजनीतिक र विधान तथा सांगठनिक दुबै कार्यदलले तयार पारेको प्रतिबेदनसँगै एकताको मिति लगायतका बिषयमा छलफल हुने राजनीतिक कार्यदल सदस्य एमाले नेता सुवास नेम्वाङले जानकारी दिनुभयो ।
गत फागुन १० गतेको एकता संयोजन समितिले गठन गरेको अन्तरिम विधान तर्जुमा र वैचारिक विषयसँग सम्बन्धित कार्यदलले आफ्नो तर्फबाट प्रतिवेदन तयार पारिसकेका छन् ।
एकता संयोजन समितिमा एमालेका तर्फबाट अध्यक्ष केपी शर्मा ओलीसहित नेता माधव नेपाल, झलनाथ खनाल र महासचिव ईश्वर पोखरेल रहेका छन् भने माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्डसहित, नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’ छन् ।
सम्भव भए दुबै कार्यदलको प्रतिवेदन हस्ताक्षर गरी आजै संयोजन समितिलाई बुझाउने तयारी गरिएको उहाँले बताउनुभयो । दुवै पार्टीले वैशाख ९ गते कम्युनिष्ट स्थापनाको दिवस पारेर एकताको गृहकार्य गरेका छन् ।
पार्टीको नाम नेकपा कम्युनिष्ट पार्टी र निर्देशक सिद्धान्त मार्क्सवाद, लेनिनवाद राख्ने लगायत विषयमा सहमति जुटेपनि नेतृत्व र शिर्ष नेता व्यवस्थापन लगायतका सांगठनिक विषयमा सहमति जुट्न बाँकी छ ।