भोजपुर १७ चैत ।
छुट्टै समानान्तर सत्ताको अभ्यास गरिरहेको नेपाल कम्युनिस्ट पार्टीले प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईको नाममा वारेन्ट जारी गरेको छ ।
एमाले नेता तथा मुख्यमन्त्री राईको नाममा जनअदालतमा दुई वटा मुद्दा परेको जानकारी गराउँदै त्यसका बारेमा छलफल गर्नका लागि १५ दिनभित्र हाजिर हुन नेकपाले वारेन्ट जारी गरेको हो ।
राईको विरुद्ध जारी गरिएको वारेन्ट पत्र उहाँको भोजपुरस्थित थिदिंखा गा.वि.स. हाल आमचोक गाउँपालिका वडा नं. ३,पसल भञ्ज्याङमा रहेको निवासमा टाँसिएको छ ।
नेकपाको केन्द्रीय जनअदालत रोल्पाद्धारा जारी वारेन्ट पत्र राईको निवास नजिकै रहेको शिक्षा ज्योती माध्यमिक विद्यालय पसल भन्ज्याङ र साविक गा.वि.स.को कार्यालय तथा हालको वार्ड कार्यालयमा समेत टाँसिएको जनाईएको छ ।
केन्द्रीय अदालतको तर्फबाट प्रकाशद्वारा हस्ताक्षर गरिएको पत्र राईको निवासमा उहाँको बाबु जागिरमान राईको उपस्थितिमा टाँसिएको छ ।
वारेन्ट पत्रमा राईको विरुद्धमा गत फागुन ६ गते विराटनगरमा हुन लागेको राष्ट्रिय युवा जन–स्वयमंसेवकको सार्वजनिक कार्यक्रममा मोरङ विराटनगरतर्फ जाँदै गर्दा नेपाल कम्युनिस्ट पार्टीका नेताहरु हेमन्त प्रकाश ओली ‘सुदर्शन’ एवं पदम राई र पार्टी सम्बद्ध थुप्रै युवाहरुलाई विराटनगरमा गिरफ्तार गरी झुट्ठा मुद्दा लगाएको मुद्धा केन्द्रीय जनअदालत रोल्पामा परेको जनाईएको छ ।
यस्तै चैत ५ गते नेकपाका कोशी ब्युरोका इन्चार्ज किरणराईलगायत थुप्रै नेताहरुलाई बिनाकारण गिरफ्तार गरी गैर कानुनी रुपमा धनकुटामा थुनामा राखेको’ भन्ने पनि मुद्धा परेको बताईएको छ ।
नेकपाले उक्त दुई मुद्दामा आवश्यक अनुसन्धान भइरहेकोले यो सुचना प्राप्त गरेको वा सार्वजनिक स्थानमा टाँस भएको मितिले १५ दिनभित्र केन्द्रीय जनअदालत रोल्पामा उपस्थित हुन भनेको छ ।
वारेन्टमा भनिएको छ , तोकिएको समयमा उपस्थित नभएमा केन्द्रीय जनपरिषद नेपालको नीति नियम अनसुसार हुने कुराको जानकारी समेत गराइन्छ ।”


