सल्यान , १६ चैत । नेपाल कम्युनिष्ट पार्टीको पोलिटब्युरो सदस्य तथा केन्द्रीय जनप्रतिनिधि सभाकी अध्यक्ष उमा भुजेल (शिलु) ले भ्रष्टहरूलार्इ कार्वाही गरेर जनताको वास्तविक शासन ल्याउनका लागि आफुहरूले एकीकृत जनक्रान्तिको कार्यदिशाअनुसार जनपरिषद गठन गरिएको बताउनु भएके छ ।
बिहीबार मगरात स्वायत्त प्रदेश सल्यानको दोस्रो जिल्ला अधिबेशन कार्यक्रममा बोल्दै उहाँले भ्रष्टहरुलाई जनअदालतमा ल्याएर कार्वाही गर्ने बताउनु भयो ।
उहाँले स्थानीय सत्ता खालि गर्न र देशमा संसदीय लुटतन्त्रको अन्त्य गर्न दलालहरुका विरुद्ध सबै मोर्चा बनाएर उनकै भाषामा दलाल सत्ता ध्वस्त पार्ने बताउनु भयो ।
‘जनताको न्याय पुर्ण आन्दोलनलाई सरकारले बन्दुकको बलमा दबाउन खोजिरहेको छ । तर,त्यो सम्भव हुदैन् ।’ उहाँले भन्नुभयो , ‘यतिखेर देशमा भ्रष्ट, दलाल र तष्करले लुटतन्त्र छ । त्यसको एकमात्र विकल्प भनेको वैज्ञानिक समाजवाद मात्रै हो।’
अधिबेशनले जनप्रतिनिधि सभाको अध्यक्षमा सागरलाई निर्वाचित गरेको छ । जसमा ४५ जना सदस्य रहेका छन् । त्यस्तै जनपरिषद प्रमुखमा मोहन चयन भएका छन् । जसमा १५ सदस्य रहेका छन् ।
जिल्ला अधिबेशनले जिल्लाभरि समानन्तर सत्ता निर्माण गर्दै उसकै भाषामा दलाल सत्ता कब्जा गर्ने, अन्याय अत्याचारका विरुद्ध न्याय दिने र समानन्तर सत्ता चलाउने निष्कर्श निकालेको मगरात स्वायत्त प्रदेश सल्यानले जनाएको छ ।