काठमाडौ १६ चैत्र ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रिय कार्यसमिति बैठक आज पनि जारी छ । प्रदेश र प्रतिनिधिसभा निर्वाचनको समीक्षा गर्न बोलाईएको कांग्रेस केन्द्रीय कार्य समिति बैठक एक साता यता जारी छ ।
ललितपूरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा बोल्न बाँकी रहेका सदस्यहरुले धारणा राख्ने क्रम सुरु भएको छ । गत चैत ९ गते देखि जारी बैठकमा हालसम्म ३७ जना केन्द्रीय सदस्यले धारणा राखिसकेका छन् ।
बोल्न बाँकी केन्द्रीय सदस्यको संख्या धेरै रहेकाले बैठक अझै केही दिन लम्बिने सम्भावना रहेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । चुनावी परिणामको समिक्षा र भावी रणनिति तय गर्न भन्दै बोलाईएको बैठक आरोप प्रत्यारोपमा सिमित भएको छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय नेताहरुले निर्वाचनमा बेहोरेको अप्रत्यासित हारको सम्पूर्ण जिम्मेवारी सभापति शेरवहादुर देउवाले लिनुपर्ने बताउँदै आएका छन् । उनीहरूले नेतृत्वको कार्यशैली र कार्यक्षमतामाथि समेत प्रश्न उठाएका छन् ।
सभापति देउवा पक्षीय नेताले भने निर्वाचनमा बेहोरेको हारलाई लिएर पार्टी सभापतिलाई मात्रै दोष दिन नमिल्ने भन्दै नेतृत्वको बचाउ गरेका छन् । उनीहरुले पार्टी पराजयको मुख्य कारण अन्तरघात नै रहेको बताउँदै आएका छन् ।