१६ चैत
काठमाडौं । नेपाल कम्यूनिस्ट पार्टी (नेकपा)का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को घरमा वारेन्ट पूर्जी टाँस्न पुगेको सरकारी टोलीलाई स्थानीयले लखेटेका छन् । कालिकोटको माल्कोट–४ स्थित प्रवक्ता प्रकाण्डको घरमा आजै मात्र दिउँसो २ बजेतिर भोजपुर जिल्ला अदालतको आदेशपत्र बोकेर ईलाका प्रहरी कार्यालय कुमाल गाउँबाट प्रहरीको एक टोली पुगेको थियो ।
टोलीले घरमा पुगेर प्रकाण्डविरुद्ध पक्राउ पूर्जी टाँस्न खोज्दादेखि नै घरपरिवार र स्थानीयसँग विवाद भएको थियो । अन्तिमसम्मा प्रहरीले जबर्जस्त गरेको भन्दै स्थानीय र घरपरिवारले प्रतिवाद गरेपछि पूर्जी नटाँसिकनै टोली फिर्ता भएको छ । विवाद झण्डै डेढ घण्टा चलेको बताइएको छ ।
परिवार स्रोतले दिएको जानकारी अनुसार टोली भोजपुर जिल्ला अदालतबाट गत पौष महिनामा भएको आदेशबमोजिम पक्राउ पूर्जी टाँस्न प्रहरीको टोली आएको हो । एकीकृत जनक्रान्तिको नीतिअनुरुप प्रतिवाद गरिएको प्रतिवादमा सहभागीहरुले बताएका छन् ।
ओली सरकारले नेकपाका कार्यकर्तादेखि उच्च नेतहरुलाई निगरानीमा राख्ने र गिरफ्तार गर्ने कार्यलाई निरन्तर दिँदै आइरहेको छ । अझ गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेकपाका गतिविधि र शक्तिबारे सुरक्षा निकायसँग तीन दिने रिपोर्ट माग गरेको केही दिन नबित्दै पूर्वमन्त्री समेत रहेका प्रकाण्डविरुद्ध पक्राउ पूर्जी टाँसको प्रयास भएको छ ।
यसैबीच हिजो मात्र नेकपाले पनि प्रधानमन्त्री र केपी शर्मा ओली र माकेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राष्ट्रघात र जनघात गरेको विषय खुलाएर जवाफ दिनका लागि पन्ध्र दिनभित्र ‘जनअदालत’मा उपस्थित हुन ओलीको झापास्थित घर र प्रचण्डको चितवनको भरतपुर महानगरपालिक–१४ स्थित घरमा वारेन्ट पूर्जी टाँसिसकेको छ । यसबारे दुवै नेताले अहिलेसम्म कुनै प्रतिक्रया दिएका छैनन् ।