काठमाडौं, चैत्र १४ ।
नेपाल कम्युनिस्ट पार्टीले आज माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका विरुद्ध वारेन्ट जारी गरेको छ । दाहालका नाममा जनअदालतमा मुद्धा परेको भन्दै त्यसको बारेमा छलफलका लागि १५ दिन भित्र हाजिर हुन नेकपाले वारेन्ट जारी गरेको हो ।
नेकपाले आज विहानै माओवादी अध्यक्ष दाहालका विरुद्ध उहाँको नीजि निवास ललितपुर १५ स्थित खुमलटारमा वारेन्ट पत्र टाँस गरेको हो । उक्त वारेन्ट केन्द्रीय जनआदलतका प्रमुख प्रकाशको नामबाट जारी गरिएको छ । छुट्टै समानान्तर सत्ताको अभ्यास गरिरहेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले रोल्पामा रहेको केन्द्रीय जनअदालतमा उपस्थित हुन प्रचण्डलाई भनेको छ ।
केन्द्रीय जनअदालत, रोल्पामा निम्न उल्लेखित मुद्दाहरु परेको हुँदा सो सम्बन्धममा आवश्यक अनुसन्धान भइरहेको र तपाईसमेतलाई बुझ्नु पर्ने भएकोले यो सुचना प्राप्त गरेको वा सार्वजनिक स्थानमा टाँस भएको मितिले १५ दिनभित्र केन्द्रीय जनअदालत रोल्पामा उपस्थित हुनका लागि सूचित गरिन्छ नेकपाले जारी गरेको वारेन्ट पत्रमा भनिएको छ ।
तोकिएको समयमा उपस्थित नभएमा केन्द्रीय जनपरिषद नेपालको नीति नियम अनुसार कारबाही हुने समेत नेकपाले जनाएको छ । प्रचण्डका विरुद्ध जारी गरिएको वारेन्ट पत्रमा “महान जनयुद्धको शान्ति प्रक्रियामा आएपछि क्रान्तिप्रति विश्वासघात गरेको, हतियार दुस्मनलाई बुझाएको र जनमुक्ति सेनालाई विगठन गरेको भनिएको छ ।
यसअघि नेकपाले हिजो साँझ प्रधानमन्त्री केपी शर्मा ओलीका विरुद्ध पनि वारेन्ट जारी गरेको थियो । दुई नेताको नै नाममा जन अदालतमा मुद्धा परेकाले सोको बारेमा छलफल गर्न भन्दै नेकपाले वारेन्ट जारी गरेको जनाएको छ । दुवै नेताका विरुद्ध फरक फरक मुद्धा परेको भन्दै नेकपाले वारेन्ट जारी गरी मुद्धाको पनि जानकारी दिएको छ ।
