काठमाडौँ, १२ चैत । प्रमुख विपक्षी दल नेपाली काँग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा युरोपियन युनियन (इयू) को निर्वाचन पर्यवेक्षण प्रतिनिधिमण्डलको प्रतिवेदनमाथि छलफल भएको छ ।
आजको बैठकमा केन्द्रीय सदस्य रमेश लेखकले इयु निर्वाचन प्रर्यवेक्षण प्रतिनिधिमण्डलमाथि काँग्रेसले आधिकारीक धारणा सार्वजनिक गर्नुपर्ने बताउनुभएको थियो ।
इयु निर्वाचन पर्यवेक्षण प्रतिनिधिमण्डलले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गरेको पर्यवेक्षणका सम्बन्धमा प्रतिवेदन केही दिन अघि सार्वजनिक गरेको थियो ।
उक्त प्रतिवेदनका केही बुँदाले नेपालको संविधानका प्रावधानका बारेमा नकारात्मक टिप्पणी गरेको भन्दै आलोचना भइरहेको छ ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बैठक सम्पन्न भएसँगै पार्टीले त्यसबारेमा आधिकारीक धारणा सार्वजनिक गरिने जानकारी गराउनुभयो ।
उहाँले इयु प्रतिनिधिमण्डलको प्रतिवेदनका केही अंशप्रति आपत्ति जनाउँदै क्षेत्राधिकार नाघेर प्रतिवेदन आएको आरोप लगाउनुभयो । तेस्रो दिनको आजको बैठकमा गोविन्द भट्टराई, रमेश लेखक, डा डिला संग्रौला र लक्ष्मी परियारले धारणा राख्नुभएको थियो ।
प्रतिनिधिसभाको बैठकका कारण आजको काँग्रेस बैठक स्थगित भई पुनः अपराह्न बस्ने बताइएको छ । आजको बैठक केन्द्रीय सदस्यहरू रमेश लेखक,गोविन्द भट्टराई , डिला संग्रौला र लक्ष्मी परियारले धारणा राखे संगै स्थगित भएको हो ।
बैठकमा ईयूको प्रतिवेदनप्रति चर्चा चले पनि कांग्रेसको आधिकारिक धारणा भने आएको छैन । ईयूले समानुपातिक आरक्षणबाट खसआर्यलाई हटाउन सुझाव दिएको थियो। सरकारले यसअघि नै प्रतिवेदन सच्याउन चेतावनी दिइसकेको छ ।