काठमाडौं , १० चैत ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकताका लागि गठित प्रतिवेदन मस्यौदा कार्यदलले आफ्नो प्रतिवेदनलाई अन्तिम रूप दिएको छ।
पार्टी एकताको आवश्यकता र न्यूनतम समाजवादी कार्यक्रमलाई समेटेर कार्यदलले प्रतिवेदन तयार पारेको कार्यदलका सदस्य एवं माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले जानकारी दिनुभयो ।
गठबन्धनले चुनावी घोषणापत्रमा समावेश गरेका योजना तथा कार्यक्रमहरूलाई समावेश गरी प्रतिवेदनको मस्यौदा तयार गरिएको उहाँले बताउनु भयो ।
चुनावमा जनतामाझ गरेका प्रतिवद्धताहरू, चुनावी कार्यक्रम र घोषणापत्रमा समावेश भएका विषयवस्तुलाई समावेश गरी न्यूनत समाजवादी कार्यक्रमहरू तयार पारेका जानकारी दिदँै पौडेलले भन्नुभयो , ’चुनावी प्रतिवद्धता अनुसार हामीले सरकारले गर्नुपर्ने कामहरूलाई समेटेर सरकारको न्यूनतम कार्यक्रमहरूलाई समेत समावेश गरेका छौं।’
एमाले नेता माधव नेपाल संयोजक रहेको कार्यदलले पार्टीको मार्गदर्शक सिद्धान्तको रूपमा माक्सवाद र लेलिनवादलाई समावेश गरी प्रतिवेदन तयार पारेको उहाँले जानकारी दिनुभयो ।
सिद्धान्तमा दुई पार्टीबीच विवाद रहेको जनताको बहुदलीय जनवाद (जबज) र माओवादलाई भने छलफलका लागि थाँती राखिएको छ।
नेकपा एमालेले मान्दै आएको जबज र माओवादी केन्द्रले मान्दै आएको माओवादलाई महाधिवेशनबाट हल गर्ने सहमती अनुसार प्रतिवेदनमा समावेश गराईएको छैन ।
पार्टीको सैद्धान्तिक विषयहरूका साथै सरकारका कार्यक्रम समेत समेटेर प्रतिवेदनको मस्यौदा तयार पारिएको उहाँको भनाई छ ।
यस्तै एकतापछि पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी रहने गरी तयार पारिएको प्रतिवेदनको मस्यौदामा विश्व कम्युनिस्ट आन्दोलन र नेपाल कम्युनिस्ट आन्दोलनको समीक्षा समेत गरिएको छ।
प्रतिवेदनमा पछिल्लो समय विश्वमा कम्युनिस्टहरू कमजोर हुँदै गएको अवस्थामा विश्वका कम्युनिष्टहरूलाई कसरी एउटै सूत्रमा बाँध्न सकिने कुरा उल्लेख रहेको उहाँले बताउनु भयो ।
नेपालमा कम्युनिस्ट आन्दोलनका क्रममा विभिन्न कालखण्डमा भएका विग्रहहरूको समीक्षा गर्दै एकीकृत र शक्तिशाली कम्युनिस्ट केन्द्र निर्माणको दिशामा अगाडि बढ्नुपर्ने निष्कर्ष प्रतिवेदनमा निकालिएको उहाँले जानकारी दिनुभयो ।
उक्त प्रतिवेदन मस्यौदा कार्यदलको ११ गते बस्ने बैठक प्रतिवेदन पेश गरिने छ । सोहि बैठकले मस्यौदालाई अन्तिम रूप दिने छ।
पार्टी एकता संयोजन समितिले फागुन ७ गते १५ दिनको कार्यावधीसहित माधव नेपालको संयोजकत्वमा प्रतिवेदन मस्यौदा कार्यदल र रामबहादुर थापाको संयोजकत्वमा विधान मस्यौदा कार्यदल गठन गरेको थियो।
२०७४ वैशाख ९ गते लेनिन जयन्ती तथा नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसका दिन पार्टी एकताको घोषणा गर्ने गरी तयारी भइरहेको नेता पौडेलले जानकारी दिनुभयो । सोही अनुरूप कार्यदलहरूले काम गरिरहेको उहाँले बताउनु भयो ।