काठमाडौं, चैत ९ ।
नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठकमा नेतृत्वको कडा आलोचना भएको छ ।
पार्टी संगठन, निर्वाचनको समीक्षालगायतका छलफल गर्न पार्टी केन्द्रीय कार्यालय सानेपामा आजदेखि भएको सुरु केन्द्रीय समितिको बैठकमा सदस्यहरुले नेतृत्वको कार्यशैलीका कारण निर्वाचनमा पार्टीले पराजय भोग्नुपरेको भन्दै चर्को आलोचना गरेका छन् ।
आज बोल्ने अधिकांश नेताहरुले पार्टीले निर्वाचका बेला स्पस्ट रणनीति बनाउन नसक्दा पराजय भोग्नुपरेको धारणा राखेका छन् ।
उनीहरुले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको सिद्धान्त र आदर्शलाई पर्वाहा नगरी व्यक्तिगत महत्वाकांक्षा र सत्ताकेन्द्रित राजनीतिक चरित्र देखाएका कारण पार्टी कमजोर भएको टिप्पणी गरेका छन ।
बैठकमा पूर्वमहामन्त्री प्रकाशमान सिंहले सरकार र पार्टी नेतृत्वमा सभापति देउवाले अपनाएको गलत रवैयाका कारण पराजय व्यहोर्नुपरेको आरोप लगाउनु भएको छ ।
उहाले पार्टी सभापति देउवाले निर्वाचनमा पराजयको जिम्मेवारी लिनुपर्ने जिकिर गर्नुभएको थियो । सिंहले आफ्नो ८ बुँदे लिखित सुझाव प्रस्तुत् गर्दे सैद्धान्तिक, नीतिगत, कमजोर संगठन, कमजोर नेतृत्वलाई पार्टी पराजकोरुपमा उल्लेख गर्नुभएको थियो ।
निर्वाचनमा गुटगत टिकट वितरण र अराजक शैलीमा पार्टी सन्चालन गरेका कारण पराजय भोग्नुपरेको भन्दै सिंहले नेतृत्व सच्चिनुपर्नेमा जोड दिनुभएको छ ।
त्यसैगरी, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पनि पार्टीको आन्तरिक संगठन चुस्त हुन नसकेको भन्दै नेतृत्व सच्चिन आवश्यक रहेको बताउनु भएको छ । पार्टी विधानविपरीत मनोमानी ढंगले चलेको भन्दै सिटौलाले नेतृत्वको रवैयाका कारण पार्टी पराजय उहाको आरोप छ ।
प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको आन्तरिक सुदृढीकरण र एकताबद्ध भएर अगाडि बढ्नका लागि नेताहरुले सुझाव दिएको बताउनु भयो । उहाले संविधानमा भएको फेरबदलअनुसार पार्टीको प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र र स्थानीय तहको नयाँ संरचना बनाउनेबारेमा पनि छलफल भएको जानकारी दिनुभएको छ ।
उहाले पार्टीलाई संघीय संरचनाअनुसारको ढाँचामा लैजान विधान संशोधन गरिने तयारी भएको पनि जानकारी दिनुभयो । बैठकमा सबै केन्द्रीय सदस्यलाई आअफनो धारणा राख्न दिईने भएकाले बैठक एकसातासम्म चल्ने जनाइएको छ ।