काठमाडौं,चैत्र ९ ।
निर्वाचन सम्पन्न भएको तीन महिना पछि त्यसको समीक्षा गर्न नेपाली कंग्रेस केन्द्रीय कार्यसमितिको बैठक अहिले बसिरहेको छ । ललितपुरको सानेपा स्थित पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको समीक्षा भइरहको बताइएको छ ।
आजको बैठकमा निर्वाचनमा अप्रत्यासित रुपमा बेहोर्नु परेको हारको कारण केलाउँदै आगामी रणनीतिबारे छलफल हुने कांग्रेस केन्द्रीय कार्यालय मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयोे ।
निर्वाचनमा बेहोरेको कारण सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले एकअर्कालाई दोषारोपण लगाउदै आएका छन् । पार्टी नेतृत्वले लिएको गलत नीति र निर्णयका कारण प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा अप्रत्यासित पराजय व्यहोरेको आरोप पौडेल पक्षले लगाएको छ ।
तर देउवा पक्षले भने अन्तरघात र वाम गठबन्धनका कारण हार व्यहोर्नुपरेको बताउँदै आएको छ । पौडेल पक्ष र केही युवा नेताहरुले निर्वाचन लगत्तै समीक्षा बैठक बोलाउन माग गर्दै आएका थिए ।
उनीहरुले नीति, कार्यक्रम र नेतृत्व नै परिवर्तन आवश्यक रहेको भन्दै महासमिति बैठकको माग गर्दै आएका छन् । उनीहरु आजको बैठकमा आक्रामक रुपमा प्रस्तुत हुने तयारीमा छन् ।
संस्थापन पक्ष भने सभापति देउवाको बचाउमा लाग्नेछ । संस्थापन पक्षका नेताहरुले निर्वाचनमा खटिएका कुन नेताको जिल्लामा कति मत बढेको वा घटेको छ भनेर जवाफ माग्ने तयारी गरेको स्रोतले बताएको छ ।
यही बैठकबाट संस्थापन पक्ष महासमितिको मिति तोक्ने तयारीमा छ । महासमितिको मुख्य एजेन्डा विधान संशोधन हुने कांग्रेसले जनाएको छ ।