काठमाण्डौ , ६ चैत ।
युरोपियन युनियनको निर्वाचन पर्यवेक्षण मिसनले (ईयू)ले नेपालमा गत मंसिरमा भएको प्रतिनिधि र प्रदेशसभा चुनावमा निर्वाचन आयोगको काम पारदर्शी नभएको निष्कर्ष निकालेको छ ।
ईयूले काठमाडौंमा आज पत्रकार सम्मेलन गरी नेपालको आगामी निर्वाचन प्रक्रियामा सुधारका लागि २९ बुँदे सुझाव सहितको प्रतिवेदन प्रस्तुत गर्दै आयोगको काम अध्ययन पछिको निष्कर्ष सार्वजनिक गरेको हो ।
सरोकारवाला सँगको नियमित परामर्शका लागि आयोगको कुनै पनि संयन्त्र नरहेको ईयू निर्वाचन पर्यवेक्षण मिसनले औँल्याएको छ ।
मतदताको सहभागीता र बदर मतहरु सम्बन्धी महत्वपूर्ण सूचना प्रकाशन गर्न आयोग विफल भएको मिसनकी प्रमुख पर्यवेक्षक जेल्याना जोभ्कोले बताउनुभयो ।
मतपत्रमा देखिएको कार्य्विधिगत कमजोरी र मतदाता शिक्षा अपर्याप्त हुनु निर्वाचनको कमजोर पक्ष रहेको बताउँदै ईयूले निर्वाचन आचारसहिंताको उल्लंघन भएको पाईए जरिवाना गर्ने र अयोग्य घोषित गर्ने व्यापक अधिकार भएपनि आयोगले त्यसको औपचारिक कार्यान्वयन नगरेको प्रतिवेदनमा उल्लेख छ ।
मतदाता नामावली दर्ता अभियान, उम्मेदवार मनोनयन प्रक्रिया र प्रचार प्रसारमा आमसञ्चारको वातावरण सकारात्मक रहेको मिसनले जनाएको छ । ईयूले दिएका सुझावको कार्यान्वयन पक्षको समेत अध्ययन गरिने प्रमुख पर्यवेक्षक जोभ्कोको भनाई छ ।
ईयूका २८ सदस्य राष्ट्रका साथै नर्वे र स्विट्जरल्याण्ड्का १ सय भन्दा बढी पर्यवेक्षकले गत मंसिरको १० र २१ गते भएको निर्वाचनको पर्यवेक्षण गरेका थिए ।