काठमाडौं चैत्र ४ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी विकास योजना र रणनीतिबारे सबै मन्त्री र मन्त्रालयका सचिवहरुसँग आज बृहत रुपमा छलफल गर्दै हुनुहुन्छ । छलफल सिंहदरवार स्थित प्रधानमन्त्री कार्यालयमा अपरान्ह ३ बजे पछि हुनेछ ।
सरकार गठन भएको १ महिना सम्म पनि मन्त्रीपरिषद विस्तार मै अलमलिएको र जनताले राहत महशुस गर्ने खालका कुनै योजना बन्न नसकेको भन्दै आलोचना भईरहेका बेला प्रधानमन्त्री ओलीले आज आफ्नो योजनाबारे छलफल गर्न लाग्नुभएको हो ।
यो बीचमा राष्ट्रपति, उपराष्ट्रपति लगायत अन्य पदको निर्वाचन तथा राजनीतिक सहमतिका कारण ठोस कदम चाल्न नसएिको भन्दै प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले सरकारी काम र योजनाबारे आज बृहत छलफल हुने जानकारी दिनुभयो ।
आजको बैठकमा प्रधानमन्त्री ओलीले जनताले राहत महुसुस गर्ने र परिवर्तन देखिने गरि योजना तथा रणनीति बनाउन मन्त्री र सचिवहरुलाई निर्देशन दिनुहुने रिमालले बताउनुभयो ।
५ वर्षे स्थिर सरकार र आर्थिक समृद्धिका लागि आफ्नो योजना समेत प्रधानमन्त्रीले सुनाउनुहुने छ । चुनावका क्रममा बाम गठवन्धनले १० वर्षमा १५ हजार मेगावट विद्युत, प्रतिव्यक्ति आय ५ हजार डलर र्पुयाउने जस्ता महत्वकांक्षी योजना ल्याएको थियो ।