३ चैत्र काठमाडौँ ।
नेपाल कम्युनिस्ट पार्टींका पोलिट्ब्यूरो सदस्य पदम राईले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माके अध्यक्ष प्रचण्ड ढोंगी नेता भएकाले अहिलेको संयुक्त सरकारले जनताको पक्षमा काम गर्न नसक्ने बताउनु भएको छ ।
उहाँले संसदीय व्यवस्था जनता विरोधी हुने भएकोले राम्रो गर्छु भन्नु दिउँसै सपना देख्नुजस्तै भएको दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो , “केपी र प्रचण्ड ढोंगी नेता हुन् । उनीहरुले जनताको पक्षमा काम गर्नु त गर्दैनन् नै, पाँच वर्षसम्म माखो समेत मार्न सक्ने छैनन् ” ।
आज संवाद डबलीमा आयोजित ‘जनसांस्कृतिक सम्मिलन’ कार्यक्रममा बोल्दै नेता राईले नेकपा एमाले र माओवादी केन्द्रमा खराबहरुको बहुमत भएकोले बताउनु भयो ।
“एमाले र माकेभित्र इमान्दार नेता–कार्यकर्त पनि छन् तर उनीहरु कम छन्, डाँका र बदमासहरु हाभी भएका छन् । त्यसैले ओली र प्रचण्ड डाँकाहरुका नेता हुन्, जनताको पक्षमा काम गर्दैनन्” राईले भन्नुभयो ।
पुर्वमन्त्री समेत रहेका राईले संसदीय व्यवस्थाले जनताको पक्षमा काम नगर्ने कुरा पुष्टि भइसकेकोले आफ्नो पार्टी वैज्ञानिक समाजवादको लागि संघर्षको थालनी गरेको बताउनु भयो ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य आजादले पुँजीवादी व्यवस्थाले कलाकारहरुलाई मनोरञ्जनका साधन मात्रै बनाउने भएकोले वैज्ञानिक समाजवादमा मात्रै हक र अधिकारको रक्षा हुने बताउनु भयो ।
चलचित्र क्षेत्रमा दिनप्रतिदिन दलालीकरण बढेको भन्दै राईले त्यसविरुद्ध क्रान्तिकारी तथा प्रगतिशील कलाकारहरु नै जुट्नुपर्ने बताउनु भयो ।
अखिल नेपाल जनसांस्कृति महासंघका महासचिव खेम थपलियाले राष्ट्रियता, जनतन्त्र र जनजीविका साथै, नेपाली जनताको वास्तविक जनसंस्कृति स्थापनाको लागि परिवर्तनकारी सांस्कृतिकर्मीहरुबीच ध्रुविकरण हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले राज्य व्यवस्थामा भइरहेको दलालीकारणसँगै सिंगो कलाकारिता क्षेत्रमा पनि दलालीकरण बढेको बताउँदै त्यसविरुद्ध फेरि संघर्ष थाल्नुपर्ने बेला आएको बताउनु भयो ।
अखिल नेपाल क्रान्तिकारी चलचित्र संघका अध्यक्ष विवेक सापकोटाले चलचित्र क्षेत्रमा मौलाईरहेको श्रम
शोषणसँगै विकृति विसंगतिविरुद्ध आफूहरु संघर्ष थाल्ने बताउनु भयो ।
कार्यक्रममा विभिन्न पार्टीमा आस्था राख्दै आएका दुई दर्जन चलचित्रकर्मी नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका थिए ।
प्रवेश गर्नेहरुमा संजोग राणा, पार्वती कार्की, सम्राट बस्नेत, गणेश मल्ल ठकुरी, अर्जुन भुषाल, संजय थापा, सुरची लामिछाने, करुणा लामिछाने, अनुराग ठकुरी, रोर्वटसिंह पौडेल, केशव भट्टराई, गणेश साउद, सुमन चिनारा, डम्बर विक, विश्व घिसिङ, दिलीप श्रेष्ठलगायत रहेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि नेकपाका पोलिट ब्युरो सदस्य पदम राई ‘विकास’ले अबिर लगाएर स्वागत गर्नुभएको थियो ।
राईले नवप्रवेशीहरुलाई स्वागत गर्दै आफ्नो पार्टी नेकपाले अघि वढाएको एकीकृत जनक्रान्तिको माध्ययबाट स्थापना हुने बैज्ञानिक समाजवादी ब्यवस्थामा मात्र चलचित्र कर्मीहरुका बास्तविक हक अघिकारहरुको सम्बोधन हुने बताउनु भएको थियो ।
