काठमाडौं, चैत ३ ।
प्रधानमन्त्री केपी ओलीले जातजाति, भाषाभाषी र धर्मको नाममा मुलुकमा विखण्डन आउन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
आज बालुवाटारमा पूर्व सांसद् मञ्च र नेपाल निजामति कर्मचारी संगठनको संयुक्त टोलीसंगको भेटमा प्रधानमन्त्री ओलीले विगतमा जात जाती र भाषाभाषीलाई उचालेर मुलुकलाई रुवान्डा र इथियोपिया बनाउन खोजेको तर आफूले सफल हुन नदिएको बताउनु भएको हो ।
अहिलेको सरकारको एउटै लक्ष्य आर्थिक समृद्धि भएको भन्दै ओलीले अब मुलुकमा प्रशासनिक ढिलाई नहुने पनि स्पष्ट पार्नुभएको थियो । सरकारले गर्ने सकारात्मक काममा सहयोग गर्नुपर्ने उहाको भनाइ थियो ।
प्रधानमन्त्री ओलीले राष्ट्र सेवक कर्मचारीलाई जनताको काम इमान्दारितापूर्वक गर्न पनि निर्देशन दिनुभएको छ ।
उहाले जनताले काममा ढिलाई भएको गुनासो आए कसैको अनुहार नहेरी कारबाही गर्ने चेतावनी दिसमेत दिनुभयो । पूर्व सांसद् मञ्चले सरकारले गरेका काममा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।