काठमाडौँ, २५ फागुन।
राष्ट्रियसभामा सरकारले मनोनित गरेका तीन जना सदस्यले आज पद तथा गोपनियताको शपथग्रहण गरेका छन् ।
नयाँ बानेश्वरस्थित संसद भवनमा राष्ट्रिय सभाका जेष्ठ सदस्य तारा देवी भट्टले सदस्यहरु अर्थमन्त्रीसमेत रहनु भएका डाक्टर युवराज खतिवडा, रामनारायण विडारी र डा. विमला पौडेललाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको हो ।
तीनै जनाको शपथग्रहण रोक्न परेको रिट सर्वोच्च अदालतले खारेज गरेपछि शपथग्रहणको बाटो खुलेको हो । यसअघि फागुन १३ मा सरकारले मनोनित गरेको सदस्यको सपथ रोक्न सर्वोच्चले अदालतले अन्तरिम आदेश दिएको थियो ।
गत बुधबारको इजलासले सपथको बाटो खुलाएसंगै ओली सरकारले मनोनित गरेका सदस्यहरुले सपथ ग्रहण गरेका हुन् । ५९ सदस्यीय राष्ट्रियसभामा ५६ जना हरेक प्रदेशबाट चुनिने र ३ जना सरकारको सिफारिसमा मनोनित गर्ने संवैधानिक व्यवस्था छ ।
यसैबीच राष्ट्रिय सभा सदस्यहरुले राष्ट्रपति निर्वाचनमा मतदान भने गर्न पाउने छैनन् । राष्ट्रपति निर्वाचनका लागि सार्वजनिक अन्तिम मतदाता नामावलीमा तीनैजनाको नाम नभएकाले मतदान गर्न नपाउने भएका हुन् ।