काठमाडौं, फागुन २२ ।
प्रतिनिधिसभा र राष्टिय सभाको आजको बैठकले आ– आफ्नो नियमावली मस्यौदा समिति’ गठन गरेको छ । आज बसेको प्रतिनिधिसभाको बैठकले १३ सदस्यीय प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन गरेको हो ।
समितिमा कृष्णभक्त पोखरेल, जुलीकुमारी महतो, दिलेन्द्रप्रसाद बडू, देवप्रसाद गुरुङ, प्रेम सुवाल, वृजेशकुमार गुप्ता, मीनबहादुर विक, डा मीनेन्द्र रिजाल, रवीन्द्र अधिकारी, रेखा शर्मा, लक्ष्मणलाल कर्ण, डा विन्दा पाण्डे र विमलप्रसाद श्रीवास्तव सदस्य हुनुहुन्छ ।
समितिले एक महिनाभित्रमा नियमावलीको मस्यौदा तयार पार्नुपर्नेछ । समितिले प्रतिनिधिसभा मातहत रहने समितिको नाम र सङ्ख्या तय गर्ने र प्रतिनिधिसभाको बैठक सञ्चालनको सम्पूर्ण कार्य्विधि तय गर्नेछ ।
समितिले आवश्यकताका आधारमा विज्ञ तथा सहयोगीसमेत लिन पाउने व्यवस्था गरिएको छ भने सदस्यभित्रैबाट सभापति समेत चयन गर्नेछ । साथै आजको बैठकले यही फागुन २६ गते सभामुख निर्वाचनको मिति तोकेको छ ।
निर्वाचनसम्बन्धी कार्यतालिका भने संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले प्रकाशन गर्ने गरी ज्येष्ठ सदस्य महन्थ ठाकुरले निर्देशन दिनुभयो । प्रतिनिधिसभाको अर्काे बैठक फागुन २६ गते अपराह्न १ बजेका लागि तय गरिएको छ ।
यसैबीच राष्ट्रियसभाको आजको बैठकले ‘राष्ट्रियसभा नियमावली मस्यौदा समिति’ गठन गरेको छ । एक महिनाको कार्यवधि दिइएको समिति बढीमा नौ सदस्यीय हुनेछ ।
समितिमा गणेशप्रसाद तिमिल्सिना, परशुराम मेघी गुरुङ, दिलकुमारी थापा, सुरेन्द्रराज पाण्डे, राधेश्याम अधिकारी, दीनानाथ शर्मा, जीवन बुढा, प्रमिला कुमारी र वृषेशचन्द्र लाल सदस्य हुनुहुन्छ ।
यसअघि खिमलाल भट्टराईले राष्ट्रियसभा नियमावली मस्यौदा समिति’ गठन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । सो प्रस्तावलाई सदस्य प्रकाश पन्थ र कालीबहादुर मल्लले समर्थन गर्नुभएको थियो ।
यस्तै बैठकले राष्ट्रियसभाको अध्यक्षको निर्वाचनको मिति यही फागुन ३० गतेका लागि निर्धारण गरेको छ । राष्ट्रियसभाका ज्येष्ठ सदस्य तारादेवी भट्टले निर्वाचनको कार्यतालिका प्रकाशन गर्न संघीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलाई निर्देशन दिनुभयो ।