२१ फागुन,काठमाडौँ । नयाँ शक्ति पार्टी, नेपालले एक वर्षपछि अधिवेशन गर्ने निर्णय गरेको छ । लुम्बिनीमा सम्पन्न संघीय परिषद्का चौथो विस्तारित बैठकपछि बसेको महाधिवेशन आयोजनक समितिको बैठकले २०७५ सालको फागुन १०–१५ मा संघीय महाधिवेशन गर्ने निर्णय गरेको हो ।
सोमबार संचार विभाग प्रमुख विश्वदीप पाण्डेले विज्ञप्ति जारी गरेर महाधिवेशनलगायत बैठकले निर्णय सार्वजनिक गरेका छन् ।
बैठकले प्रदेशको कार्यविभाजन पनि गरेको छ । सातै प्रदेशका इन्चार्ज र संयोजक पनि तोकिएको छ । जसमा १ मा राजेन्द्रबहादुर किराँती इन्चार्ज र देवीराम भण्डारी संयोजक, २ मा रामरिझन यादव र सुशील यादव, ३ मा गंगानारायण श्रेष्ठ र सोनामसिं स्याङतान, ४ मा रुद्रबहादुर गुरुङ्ग र देवीप्रसाद सुवेदी, ५ मा नवराज सुवेदी र दानबहादुर चौधरी, ६ मा (कर्णाली प्रदेश) सरुण बाठामगर र रामबहादुर बोहरा र ७ नम्बर प्रदेशमा कृष्णकुमार चौधरी इन्चार्ज र प्रकाशबहादुर साउदलाई संयोजकको जिम्मेवारी बैठकले तोकेको छ ।
त्यसैगरी प्रवासको इन्चार्ज हिसिला यमी र धनबहादुर गुरुङ्गलाई संयोजकको जिम्मेवारी पनि बैठकले तोकिएको छ ।
बैठकले प्रशान्त सिंह र डम्बर खतिवडालाई पार्टी प्रवक्ताको जिम्मेवारी दिएको छ भने केन्द्रीय कार्यालयको सचिवको जिम्मेवारी राजु नेपाललाई तोकिएको छ । सूचना, संचार तथा प्रकाश विभागको जिम्मेवारी विश्वदीप पाण्डेलाई दिइएको छ ।
यही चैत्र ५ गते गते प्रदेश १ र २ को संयुक्त भेला लहानमा, चैत्र ७ गते प्रदेश ३ र ४ को संयुक्त भेला चितवनमा र चैत्र १० गते प्रदेश ५, ६ (कर्णाली प्रदेश) र ७ को संयुक्त भेला नेपालगञ्जमा गर्ने निर्णय भएको पाण्डेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
पाण्डेका अनुसार २०७५ लाई पार्टीको महाधिवेशन वर्ष बनाउने निर्णय पनि बैठकले गरेको छ । त्यसको लागि भदौ र असोजमा स्थानीय तहको सम्मेलन, मंसीर र पुसमा प्रादेशिक अधिवेशन गर्ने नयाँ शक्तिले निर्णय गरेको छ ।
नयाँ शक्तिको सुरुवातदेखि चर्चामा रहेको नायीका करिश्मा मानन्धरलाई भने कुनै जिम्मेवारी दिइएको छैन । उनलाई यसअघिको सचिवालयबाटै हटाइएको छ । बैठकले डा. बाबुराम भट्टराई, कल्पना धमला, केशव दाहाल, कृष्णकुमार चौधरी, गंगानारायण श्रेष्ठ, डम्बर खतिवडा, डा. केशवमान शाक्य, दुर्गा सोव, देवीप्रसाद ओझा, नवराज सुवेदी, परशुराम खापुङ, राजेन्द्रकुमार किराँती, रामरिझन यादव, रुद्रबहादुर गुरुङ, सरुण बाठा मगर, हिसिला यमीको सचिवालय गठन पनि गरेको छ ।
यसअघि सचिवालयमा करिश्मा थिइन् । नयाँ शक्तिभित्र करिश्माको क्षमतामाथि पटकपटक प्रश्न उठाइने गरिएको थियो । बैठकमा नेताहरुले अनुहारले पार्टी चल्दैन क्षमता चाहिन्छ भन्दै करिश्मालाई ब्यांग्य गर्दै अाएका थिए । करिश्मालाई सचिवालयमा राखेका कारण संयोजक बाबुरामको अालोचना हुँदै अाएको थियो । नेताहरुले उठाउँदै अाएको प्रश्नकै कारण सचिवालयबाट हटाइएको बताइएको छ । अब करिश्मा परिषद सदस्य मात्रै रहेकी छन् ।