काठमाडौं, २१ फागुन ।
नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले जनताको बहुदलीय जनवाद संसारकै उत्कृष्ट विचार भएकोले पार्टी एकता भए पनि आफूले जबज छाड्न नसक्ने प्रष्ट पार्नुभएको छ ।
१९ वर्षअघि मारिएका रुकुमका तत्कालीन एमाले सचिव यदु गौतमको स्मृतिमा आज काठमाडौंमा आयोजित कार्यक्रममा गौतमले जबज छाड्न नसकिने बताउनु भएको हो ।
गौतमले अहिलेको पार्टी एकीकरणसम्म आउने आधार पनि एमालेले अंगिकार गरेको जबजले नै तयार पारेको दावी गर्नुभएको छ । रुसमा समाजवाद असफल भएपछि एमालेले अंगिकार गरेको जबज नै संसारको उत्कृष्ट विचार भएको उहाको दाबी छ ।
आफूले कहिल्यै माओवाद र माओवादी जनयुद्धलाई समर्थन नगरेको भन्दै गौतमले माओवादीलाई जबजको लाइनमा ल्याउन खोज्दा आफूलाई एमालेभित्रैबाट माओवादीको आरोप लगाइएको स्मरण गर्नभएको थियो ।
एमाले र माओवादी एकीकरणका शुत्राधार मानिएका गौतमले केपी ओली र प्रचण्डलाई तयार पार्न निकै मेहनत गरिएको बताउनु भयो । ९ वर्षदेखि पार्टी एकीकरणका लागि प्रयास गरे पनि प्रचण्ड र ओली दुवै नेता तयार भएपछिमात्र एकता सम्भव भएको उहाको धारणा थियो ।
राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र राष्ट्रियसभा अध्यक्षको निर्वाचनपछि दुई पार्टीवीच सांगठनिक एकीकरण हुने गौतमले बताउनु भएको छ ।
एमालेको सफलता नै जबज भएको भन्दै गौतमले माओवादी विस्तारै एमालेको बाटोमा आएको पनि दाबी गर्नुभयो ।