काठमाडौं ,२१ फागुन ।
प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय जनता पार्टीलाई पनि सरकारमा ल्याउन पहल थालेका छन् । संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउने छलफल करिब अन्तिम विन्दुमा पु¥याएका ओलीले राजपालाई पनि ल्याउन लागेका हुन् ।
राजपा अध्यक्ष महन्थ ठाकुरसँग आइतबार बिहान प्रधानमन्त्री ओलीले झन्डै दुई घण्टा छलफल गरेका थिए । मुलुक बनाउने उद्देश्यले आफू अघि बढिरहेकाले यो काममा सहकार्य गर्न खोजेको भन्दै उनले ठाकुरलाई सरकारमा सहभागी हुन प्रस्ताव गरेका थिए । ‘मुलुकको विकासका लागि धेरै काम गर्नुपर्नेछ यसका लागि सबै दल मिलेर जाऔ भन्ने प्रधानमन्त्रीको आग्रह थियो,’ ओलीको भनाइ उद्धृत गर्दै एमालेका एक नेताले भने, ‘सरकारलाई बहुमत आवश्यक छैन, तर सबैसँग मिलेर जाने उद्देश्यले प्रस्ताव गरेको हुँ ।’
प्रदेश २ मा फोरम र राजपाको गठबन्धन छ । फोरमसंग केन्द्रीय सरकारमा बाम गठबन्धनले सहकार्य गर्न खोजेपछि राजपा नेताहरू केही झस्किएका थिए । आफूहरूसँग छलफल नै नगरेको भन्ने प्रतिक्रियासमेत राजपा नेताहरूबाट आएको थियो । फोरमसँग सहमति हुने अवस्था बनेपछि राजपा अध्यक्ष ठाकुरले तीन दिन पहिले विज्ञप्ति जारी गरी संविधान संशोधन लगायतका माग सम्बोधन गर्न भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।
ठाकुरको यस्तो विज्ञप्ति आएपछि पहिलोपटक ओलीले बोलाएर छलफल र सहकार्यको प्रस्ताव गरेका हुन् । ओलीसँगको छलफलमा अध्यक्ष ठाकुरले आफ्नो दलभित्र यसबारे विस्तृत छलफल गर्ने जवाफ दिएका छन् । राजपाको आन्तरिक छलफलबाट सरकारमा जाने निर्णय भए एमाले र माओवादीले आफ्ना भागमा परेका मन्त्रालयहरू मिलाएर राजपा र फोरमलाई दिनेछन् ।
कान्तिपुर दैनिकबाट