चितवन, १९ फागुन ।
नेपाली काँग्रेसका नेता गगन थापाले अहिलेको परिवेशमा पार्टी सभापति र संसदीय दलको नेता एउटै व्यक्ति हुनु उपयुक्त नभएको बताउनुभएको छ ।
चितवन पुग्नुभएका थापाले आज सञ्चारकर्मीसँग कुरा गर्दै दुई तिहाई बहुमत पु¥याउन लागेको कम्युनिष्ट सरकारसँग संसद्मा भिड्नुपर्ने भएकाले एकै व्यक्तिले दुई मोर्चामा रहेर काम गर्न नसक्ने विचार व्यक्त गर्नुभयो ।
उहाँले विपक्षी दलको भूमिका अहिले गुण र दोषका आधारमा सरकारलाई सहयोग र विरोध मात्रै नभएर संविधानको मर्मअनुसार सरकार चल्यो कि चलेन भनेर त्यसको रखवाली गर्ने काम पनि भएको स्पष्ट पार्नुभयो ।
यसैबीच नेपाल तरुण दल भारत महाराष्ट्रका सचिव पूर्णकान्त पौडेलले नेता थापालाई प्रवासी नेपालीका समस्याका बारेमा अवगत गराउनु भएको छ ।
पौडेलले आज थापासँग भेट गरी नेपालबाट भारतमा रोजगारी, अध्ययन, व्यवसाय गरी बसेका नेपालीका अनगिन्ती समस्या भएको र त्यसको सरकारले सम्बोधन गर्न नसकेको जानकारी गराउनु भएको थियो ।
भारतमा रहेका नेपाली भारतीय सरकारबाट विभिन्न खालका विभेद्मा परेको भन्दै उहाँले सरकारीस्तरबाट त्यस्ता विभेद् हटाउन पहल गरिनुपर्ने बताउनुभयो ।
जवाफमा नेता थापाले भारतमा रहेका नेपालीको समस्या समाधानका लागि आफ्नो तर्फबाट पहल गर्ने आश्वासन दिनुभयो ।