काठमाडौं फाल्गुन १३, ।
नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ ।
ललितपुरको सानेपास्थित पार्टी कार्यलयमा आज बसेको केन्द्रीय कार्यसमिति बैठकले नेता चीनकाजी श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति बनाएको हो ।
समितिमा नेताद्वय नविन्द्रराज जोशी र भिष्मराज आङ्देम्बे सदस्य रहेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।
यही फागुन २० गते संघीय संसदका प्रतिनिधिले सपथ लिने कार्यसुची तय भएकाले त्यसपछि मात्र कांग्रेसले दलको नेता चयन प्रक्रिया अघि बढाउने शर्माको भनाई छ ।
सांसदले सपथ लिएपनि संसदीय दलको नेता चयनका लागि निर्वाचन तालिका सार्वजनिक गर्ने कांग्रेसले जनाएको छ । दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र नेता प्रकाशमान सिंहले इच्छा देखाउनु भएको छ ।
आजको बैठकले पार्टीको संसदीय दलको विधान पनि अनुमोदन गरेको छ । कांग्रेसबाट प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सांसदहरुका हिजो बसेको संयुक्त बैठकले छाँया सरकारको अवधारणासहित दलको विधान मस्यौदा पारित गरी अनुमोदनका लागि केन्द्रीय समितिमा पठाएको थियो ।
स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन समीक्षाका लागि छिट्टै अर्को बैठक बोलाउने शर्माले बताउनुभयो ।
यस्तै बैठकले राष्ट्रिय सभाका लागि शेरबहादुर देउवा नेतृत्वको सरकारले सिफारिस गरेको नाम राष्ट्रपतिले अनुमोदन नगरी एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले पठाएको नाम अनुमोदन गरेकोप्रति आपत्ति जनाएको छ ।
राष्ट्रपतिको सो कदम असंवैधानिक भएको निष्कर्ष सहित कांग्रेसले लिखित रुपमै विरोध गरेको प्रवक्ता शर्माले बताउनुभयो ।