काठमाडौ, ११ फागुन ।
नेपाल कम्युनिस्ट पार्टीले ओली सरकारको प्रहरी दमन र हस्तक्षेपको विरुद्ध आज देशैभरी केपी पुत्ला जलाउदैँ छ ।
चितवनको भरतपुर स्थित हाकिमचोकमा पुत्ला जलाउने काम सम्पन्न गरेको नेकपा चितवनले जनाएको छ ।
नेकपाका कार्यकर्ता, समर्थक, शुभचिन्तकहरुले नारासहित हाकिमचोकमा केपी ओलीको पुत्लामा आगो लगाएका छन् ।
पूर्वी कमाण्ड अन्तर्गत धनकुटाको पाखीबासमा पनि केपी ओलीको पुत्ला जलाउने कार्यक्रम सम्पन्न भएको छ । स्याङ्जाको मायाटारि बजारमा पुत्ला दहन कार्यक्रम सम्पन्न भएको बताइएको छ ।
यसैगरी सिन्धुलीको हरिहरपुरगढी ८ पानताले र हरिहरपुरगढीकै १ जीतपुरमा पुत्ला जलाउने कार्यक्रम सम्पन्न भएको छ ।
गिरफ्तार नेता कार्यकर्ता रिहाईको माग गर्दै चरणबद्ध आन्दोलनमा उत्रिएको नेपाल कम्युनिष्ट पार्टीले काठमाडौ उपत्यकासहित देशैभर प्रधानमन्त्री ओलीको पुत्लादहनका साथै विरोध कार्यक्रम आयोजना गरेको हो ।
विराटनगरमा गत आइतबार भएको शान्तिपूर्ण कार्यक्रममा प्रहरीले हस्तक्षेप गरी पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’, पोलिट्ब्युरो सदस्य पदम राईसहितका नेता कार्यकर्तालाई गिरफ्तार गरेको थियो ।
गिरफ्तारमा परेका नेताहरुविरुद्ध सार्वजनिक मुद्धा लगाएपछि नेकपाले देशव्यापी चरणबद्ध रुपमा आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । यसअघि हिजो देशैभर अन्तर्राक्रिया कार्यक्रमको आयोजना गरेको थियो ।
अन्तरक्रियामा बोल्ने वक्ताहरुले वर्तमान संविधानको कडा आलोचना गर्दै ओली सरकारद्वारा नेकपामाथि गरिएकोे दमन र हस्क्षेपको विरोध गरेका छन् ।
शान्तिपूर्ण रुपमा कार्यक्रम गर्दा गर्दै पक्राउ परेका आफ्ना नेताहरुलाई तत्काल विनाशर्त रिहाइ नगरे कडा प्रतिकारमा उत्रने नेकपाको चेतावनी छ ।