काठमाडौं फागुन १० ।
पार्टी एकता संयोजन समितिले एमाले र माओवादी केन्द्रबीच पार्टी एकता घोषणाका लागि राजनीतिक प्रतिवेदन र विधान तथा संगठनात्मक प्रतिवेदन लेख्न बनाइएको दुई संयुक्त कार्यदलाई १५ दिनभित्र आफ्नो प्रतिवेदन बुझाउन निर्देशन दिएको छ ।
बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज बसेको दुवै पार्टी सम्मिलित कार्यदलको सुंयुक्त बैठकलाई सम्बोधन गर्दै एमाले र माओवादी केन्द्रका अध्यक्षद्वयले दुवै समितिलाई फागुन २५ गते सम्म प्रतिबेदन बनाउन निर्देशन दिएका हुन् ।
दुई अध्यक्षको निर्देशन अनुसार दुबै कार्यदलले आगामी २५ गतेभित्र प्रतिवेदन एकता संयोजन समितिलाई बुझाउने निर्णय भएको एमाले नेता प्रदीप ज्ञवालीले जानकारी दिनुभएको छ । यस्तै चैत पहिलो हप्तासम्म पार्टी एकता प्रक्रियालाई ठोस रुप लिने ज्ञवालीले बताउनुभयो ।
गत सोमबार राती एमाले र माओवादी केन्द्रबीच एकताबारे ७ बुँदे आधारपत्रमा समझदारी भएको थियो । सोही दिन बसेको एकता संयोजन समितिको बैठकले एमाले नेता माधव कुमार नेपाल संयोजकत्वको राजनीतिक कार्यदल र ईश्वर पोखरेल नेतृत्वको विधान तथा संगठनात्मक कार्यदल गठन गरेको थियो ।
दुवै समितिले पार्टी सञ्चालनका आधारभूत विषयमा टुंगो लगाउँदै अब २५ गतेभित्र एकता समितिमा प्रतिवेदन बुझाउनु पर्नेछ ।
यसैबीच, भोलि सम्ममा मन्त्रिमण्डलमा सहभागी हुनेहरुको नाम तय गर्न एमाले र माओवादी केन्द्र आन्तरिक छलफलमा जुटेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भोलिसम्म मन्त्रिपरिषद् बिस्तारको तयारी गरेपछि दुबै दल मन्त्री बन्नेहरुको नाम तय गर्न जुटेका हुन् । आकांक्षी बढी भएपछि व्यवस्थापन भने कठिन बनेको नेताहरुले बताएका छन् ।