काठमाडौ ८ फागुन ।
सरकारले राष्ट्रिय सभामा ३ जनाको नाम सिफारिस गरेको छ । आज बिहान बसेको मन्त्रीपरिषद बैठकले शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारको निर्णय उल्टाउदै नयाँ नाम सिफारिस गरेको हो ।
बैठकले योजना आयोगका पूर्वउपाध्यक्ष तथा पूर्वगर्भनर युवराज खतिवडा, वरिष्ठ अधिवक्ता रामनारायण बिडारी र योजना आयोगकै पूर्वसदस्य बिमला पौडेल राईलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गरेको बालुवाटार स्रोतले जनाएको छ ।
यसअघि देउवा नेतृत्वको सरकारले कांग्रेस निकट कृष्णप्रसाद पौडेल, गोपाल बस्नेत र चाँदनी जोशीलाई राष्ट्रियसभामा सिफारिस गरेको थियो । उक्त सिफारिसलाई राष्ट्रपति कार्यालयले कार्यान्वयन गरेको थिएन ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सिफारिस गरेकाहरु एमाले र माओवादी निकट छन् । ५९ सदस्यीय राष्ट्रियसभामा ३ जना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने संवैधानिक व्यवस्था छ ।
हरेक प्रदेशबाट ८–८ जनाका दरले राष्ट्रिय सभामा ५६ जना भने निर्वाचित भइसकेका छन् ।