विवाद भएर वा कुरा नमिलेर होइन ,एकतामा ढिलाइ हुनुकाे कारण यस्ताे छ : प्रचण्ड

विवाद भएर वा कुरा नमिलेर होइन ,एकतामा ढिलाइ हुनुकाे कारण यस्ताे छ : प्रचण्ड

  • शुक्रबार, फाल्गुन ४, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमाडौँ, ४ फागुन ।

नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा(एमाले)सँगको पार्टी एकतालाई केही दिनभित्रै टुंग्याउने गरी पहल भइरहेको बताउनुभएको छ ।

पार्टी सम्बद्ध एकीकृत अखिल नेपाल शिक्षक संगठनको महाधिवेशनलाई आज सम्बोधन गर्दै उहाँले भन्नुभयो, “पार्टी एकताका पक्षमा सघनरुपमा छलफल भइरहेको छ । विवाद भएर वा कुरा नमिलेर होइन, सबै विषयलाई एकमुष्ठरुपमा मिलाउन लागिएकाले केही समय लागेको जस्तो देखिएको हो ।”

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीलगायत एमालेका शीर्ष नेतासँग राजनीतिक वैचारिक तथा अन्य सांगठनिक विषय मिलाउन र सबैलाई मान्य हुने गरी एकताको भावना आमरुपमा जाने गरी तयारी गरिएकाले समय लागेको जस्तो देखिएको उहाँको भनाइ थियो ।

बिहीबार सरकार गठन हुँदा माओवादी केन्द्रको तर्फबाट मन्त्रिमण्डलमा सहभागी नहुँदा विवाद भएर हो कि भन्ने आशंका देखिएको र देखाउन खोजिएको भन्दै उहाँले त्यस्तो असहमति र विवाद नरहेको स्पष्ट पार्नुभयो ।

पार्टी एकताको लक्ष्यसहित संयुक्त गठबन्धन बनाएर निर्वाचनमा साझा घोषणापत्रका साथ जनतामा गएको र जनताले त्यसलाई अनुमोदन गरेको दोहो¥याउँदै भन्नुभयो, “पार्टी एकतालाई जनताले अनुमोदन गरेका छन् । वाम गठबन्धनको पक्षमा करिब दुई तिहाइ मत छ । यसलाई समृद्ध राष्ट्र निर्माणमा लगाउनु पर्दछ ।”

आर्थिक समृद्धि र समाजवादप्राप्तिको लक्ष्य नै आफूहरुको साझा लक्ष्य र कार्यभार रहेको स्पष्ट पार्दै अध्यक्ष दाहालले राजनीतिक स्थिरताप्राप्त भएकाले आर्थिक विकास र समृद्धिको प्रश्न नै वर्तमानको प्रमुख दायित्व रहेको बताउनुभयो ।

एक फरक प्रसंगमा नेपालको राजनीतिक परिवर्तनमा शिक्षकको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । हरेक राजनीतिक दलको केन्द्रीय नेतृत्वमा शिक्षक पृष्ठभूमिबाट आएकाको संख्या बढिरहेको भन्दै उहाँले शिक्षा क्षेत्रमा देखिएको समस्या समाधानका लागि नवनिर्वाचित सरकारले काम गर्ने उल्लेख गर्नुभयो ।

प्राविधिक शिक्षामा जोड दिँदै उहाँले सैद्धान्तिक शिक्षाले मानव समुदायको हित नगर्ने भएकाले रोगजारमूलक शिक्षामा वर्तमान सरकारले जोड दिने र आफ्नोतर्फबाट सकारात्मक पहल हुने विश्वास व्यक्त गर्नुभयो ।

मुलुकको समग्र विकासका लागि शैक्षिक क्षेत्रमा आमूल परिवर्तनको जरुरी रहेको स्पष्ट पार्दै उहाँले शैक्षिक क्षेत्रमा देखिएको व्यापारीकरण र निजीकरणलाई क्रमशः अन्त्य गर्दै सार्वजनिक शिक्षालाई सवल बनाउनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा पूर्वशिक्षामन्त्री धनीराम पौडेलले संविधानले नै व्यवस्था गरेअनुसार समाजवादी शिक्षाको पक्षमा शिक्षक, विद्यार्थी र अभिभावकले साझा प्रयत्न गर्नुपर्ने बताउनुभयो ।

उहाँले विगतमा वाम नेतृत्वको सरकारले शैक्षिक सुधारका पक्षमा काम गरेको भए पनि कर्मचारी प्रशासनको असहयोगका कारण सम्पूर्णरुपमा सफल हुन नसकिएको उल्लेख गर्नुभयो । तीन दिनसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने आयोजकले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ