मुख्यमन्त्रीमा शाही नियुक्त:को–हुन् मुख्यमन्त्री शाही ? 

मुख्यमन्त्रीमा शाही नियुक्त:को–हुन् मुख्यमन्त्री शाही ? 

  • शुक्रबार, फाल्गुन ४, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

सुर्खेत, ४ फागुन। ६ नं प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका संसदीय दलका नेता महेन्द्रबहादुर शाही नियुक्त हुनुभएको छ । एमालेको समर्थनमा शाही मुख्यमन्त्रीमा नियुक्त भएसँगै ६ नं प्रदेश सरकार गठनको ढोका खुलेको छ । 

को–हुन् मुख्यमन्त्री शाही ?

विसं २०३३ साल माघ १५ गते आमा रणकौडा र बुबा लालबहादुर शाहीका सुपुत्रका रुपमा जन्मनुभएका मुख्यमन्त्री महेन्द्रबहादुर शाही कालीकोटको पचाल झरना गाउँपालिका (साबिकको नानीकोट–८), कोटिलागाउँ निवासी हुनुहुन्छ । सानैदेखि विद्रोही स्वभावका शाही विद्यालय पढ्दादेखि नै क्रान्तिप्रति झुकाव राख्नु हुन्थ्यो । २०४८ सालबाट नेकपा (मसाल एकता केन्द्र)बाट आफ्नो राजनीतिक यात्रा शुरु गर्नुभएका शाही बडिमालिका मावि, स्युना, रासकोट, कालीकोटबाट एसएसली परीक्षा दिएपछि २०५२ सालमा तत्कालिन नेकपा (माओवादी)ले थालनी गरेको सशस्त्र जनयुद्धमा सरिक हुनुभयो । उहाँले २०५३ सालमा मध्य पश्चिमाञ्चलको गुरिल्ला गठनमा सदस्यदेखि लडाकु जीवनमा प्रवेश गर्नुभएको थियो ।

राजनीतिक र फौजी दुवै मोर्चामा कुशल सैन्य नेतृत्व सम्हाल्दै सशस्त्र युद्धमा सामेल हुनुभएका शाही पश्चिम नेपालको बुटवलदेखि दार्चुलासम्म हुने जुनसुकै जनयुद्धमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभयो । शान्ति प्रक्रिया हुँदै सेना समायोजनसम्म सैनिक क्षेत्रमा महत्वपूर्ण भूमिका पूरा गर्नुभएका उहाँले शुरुमा वार्ड कमाण्डर, स्क्वाड कमाण्डर, प्लाटुन कमाण्डर, कम्पनी कमाण्डर, बटालियन कमाण्डर र बिग्रेड कमाण्डर हुँदै डिभिजन कमाण्डरसम्मको नेतृत्व गर्न सफल हुनुभयो ।

नेपाली सेनामा समायोजन गर्दाका बेलामा सम्मानजनक पद नपाएपछि उहाँ पार्टीको मूलधारको राजनीतिमा आउनुभएका थियो । २०७० सालको संविधानसभा निर्वाचनमा कालीकोटबाट संविधानसभा सदस्यमा निर्वाचित उहाँले संविधान सभामा पनि महत्वपूर्ण भूमिका खेल्नुभयो । ०७० को निर्वाचनमा तेस्रो शक्ति बनेको माओवादी केन्द्रबाट निर्वाचित सदस्यका हैसियतले संविधान निर्माणका बेला चुनौतीको सामना गर्न शाही बेलाबेलामा अग्र भागमा देखिनुभयो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग प्रस्ताव संसद्मा दर्ता गरेपछि निकै चर्चामा आउनुभएका उहाँलाई पछिल्लो समयमा पार्टीले ऊर्जामन्त्री बन्ने अवसर दिएको थियो । त्यसपछि गएको मंसिर १० र २१ गते सम्पन्न ऐतिहासिक संघ तथा प्रदेशसभाको चुनावमा कालीकोट (ख)बाट वाम गठबन्धनका साझा उम्मेदवारका रुपमा नेकपा (माओवादी केन्द्र)बाट उहाँ प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभयो ।

त्यसैगरी, उहाँलाई नेकपा (माओवादी केन्द्र)ले फागुन २५ गते प्रदेशसभा संसदीय दलको नेता चुनेको थियो । मुख्यमन्त्री बन्न नेकपा (एमाले) संसदीय दलको आलोपालोको प्रस्तावले सामान्य अवरोध आएपनि अन्ततः एमालेकै समर्थनमा बहुमत सदस्यको हस्ताक्षरबाट २०७४ फागुन ३ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका शाहीले ऐतिहासिक यात्रा तय गर्नुभएको छ । हाल उहाँ नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति सचिवालय सदस्य हुनुहुन्छ ।

उहाँको परिवारमा आमा तथा वुवाको मृत्यु भैसकेको छ भने हाल एक दाजु र एक विवाहित दिदी हुनुहुन्छ । उहाँका धर्मपत्नी, दुई छोरा र एक छोरी हुनुहुन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी