प्रधानमन्त्री शेरबहादुर देउवाले आज पदबाट राजीनामा दिने तयारी गर्नुभएको छ । प्रतिनिधिसभा निर्वाचनबाट संघीय संसदमा दोस्रो दलमा खुम्चिएपछि कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले पदबाट राजीनामा दिन लाग्नु भएको हो ।
प्रतिनिधिसभामा बुहमत प्राप्त दलका नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने संवैधानिक व्यवस्थाकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीले आजै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने सम्भावना छ ।
निर्वाचन आयोगले सम्पूर्ण निर्वाचनको अन्तिम नतिजा राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष बुझाएपछि देउवाले आज जनताका नाममा सम्बोधन गर्दै राजीनामाको तयारी गर्नुभएको उहाँका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिनुभयो ।
राजीनामा अघि मन्त्रिपरिषद्को बैठक राजधानीको वालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बोलाईएको कृषि विकास मन्त्री रामकृष्ण यादवले जानकारी दिनुभयो । कांग्रेस सभापति देउवा माओवादी केन्द्रको समर्थनमा गत जेठ २३ गते प्रधानमन्त्री निर्वाचित हुनुभएको थियो । एमालेसँग तालमेल गर्दै निर्वाचनमा सहभागी भएको माओवादीले पार्टी एकीकरण प्रक्रियाबारे छलफल अगाडि बढाएपछि सरकार छाडेको थियो ।