काठमाडौ, २९ माघ ।
निर्वाच्न आयोगले प्रतिनिधि सभा समानुपातिक तर्फ नामवली बुझाउन दिएको समयसीमा आज सकिदैछ । हालसम्म नेकपा एमालेले मात्रै नामावली बुझाएको आयोगले जनाएको छ ।
एमालेले आफूले पाएको ४१ जना सांसदको नामवली हिजो आयोगमा बुझाएको हो । यस्तै नेपाली कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले आज नामवली टुंगो लगाउँदैछन् ।
कांगेसले ४०, माओवादी केन्द्रले १७ तथा राजपा र संघीय समाजवादी फोरमले समानुपातिकतर्फबाट ६–६ जना सांसद पठाउनुपर्नेछ ।
संघीय संसदमा कम्तिमा ३३ प्रतिशत महिला हुनैपर्ने संवैधानिक व्यवस्था भएकाले त्यही अनुसार नाम सिफारिस गर्न निर्वाचन आयोगले आग्रह गरेको छ ।
जसअनुसार कांग्रेसले २०, माओवादीले १६, राजपाले ६ र संघीय समाजवादी फोरमले ५ जना महिलाको नाम पठाउनैपर्नेछ । एमालेले बुझाएको ४१ जनाको नाममा ३७ जना महिला र ४ जना पुरुष छन् ।
आयोगले प्रतिनिधिसभा अन्तर्गत समानुपातिक तर्फ प्राप्त गरेको सिट संख्याका आधारमा समावेश गर्नुपर्ने महिला सिट समेत तय गरी नामवली पठाउन दलहरुलाई शुक्रबार पत्रचार गरेको थियो ।
दलहरुले नियम अनुसार नाम पठाए आजै नाम सार्वजनिक गर्ने तयारी रहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।