टीकापुर ,२६माघ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा (माओवादी केन्द्र) सँग एकता भएर नयाँ बन्ने पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हुने बताएका छ ।
आज टीकापुरमा एमाले क्षेत्र नं १ क्षेत्रीय कमिटीले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गदै उनले पार्टी एकतापछि पछाडि पुच्छर झुण्डिएर रहेको नाम हट्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मात्र रहने बताए।
“२००६ सालमा पुष्पलाल श्रेष्ठले स्थापना गरेको पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी थियो । त्यसपछि उक्त पार्टी फुटेर नेकपाको पछाडि माले, मसाल, मशाल, एकता केन्द्र, एमाले हुँदै माओवादी केन्द्रलगायतका नामको पुच्छर झुण्डिएको छ, उनले भने– अब ती झुण्डिएका पुच्छर हटाएर एउटै नाम नेपाल कम्युनिष्ट पार्टी बन्नेछ।”
नेता नेपालले दुई पार्टीबीच एकताको प्रयास भइरहेको बन्दै अहिले सैद्धान्तिक र संगठनात्मक कस्तो हुने भन्नेमा छलफल चलिरहेको बताए।
पूर्वप्रधानमन्त्रीसमेत रहका नेता नेपालले नेताको योग्यता र त्याग, अनुसार नै पार्टी एकतापछि उचित मूल्यांकन भएर जिम्मेवारी दिने बताए।