काठमाडौं, माघ २४ ।
राष्ट्रियसभा सदस्य चयनका लागि भएको निर्वाचन सकिएको छ ।
आज मतदान भएका सबै ६ वटै प्रदेशको निर्वाचन सकिएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।
आज प्रदेश नम्बर १ ,३ , ४ , ५ , ६ र ७ नम्बर प्रदेशमा प्रदेशसभा सदस्य चयनका लागी निर्वाचन भएको हो । निर्वाचन आयोगले बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म मतदानका लागी समय निर्धारण गरेको थियो ।
प्रदेश नं २ मा भने आवश्यक ८ सिटका लागि सबै उम्मेदवार निर्विरोध निर्वाचित भइसकेकाले निर्वाचन गर्नुपरेन ।
निर्वाचनका लागि ६ वटा प्रदेशमा ३२ सिटका लागि ५२ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।
निर्वाचनका लागि प्रदेश नं १ को विराटनगर, ३ को पाटन, ४ को पोखरा, ५ को दाङ, ६ को सुर्खेत र ७ को डोटीमा मतदान केन्द्र तोकिएको थियो ।
प्रत्येक मतदान स्थलमा प्रदेशसभा सदस्यका लागि छुट्टै र स्थानीय तहका पदाधिकारीका लागि छुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको थियो ।
आजैदेखि मतगणना कार्य शुरु गर्ने निर्वाचन आयोगले जनाएको छ । आयोगले सकेसम्म आजै र नभए भोली सम्ममा सबै पदको मत परिणाम सार्वजनिक गर्ने तयारी गरेको छ ।
मतदान सकिएलगत्तै मतगणना कार्यलाई निरन्तर जारी राखेर पूर्णता दिन सबै निर्वाचन अधिकृतलाई निर्देशन दिएको आयोगले जनाएको छ ।
आयोगले निर्वाचनको अनुगमनका लागि सबै प्रदेशमा सहसचिव खटाएको छ ।