काठमाडौं, माघ २३ ।
संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेसँगै नेपालमा पहिलोपटक प्रदेश सभाको अभ्यास सुरु भएको छ । सातवटा प्रदेश निर्धारणपछि भएको निर्वाचनबाट निर्वाचित प्रदेश सभाको सांसदहरुले पहिलो प्रदेश अधिवेशन गरे सँगै प्रदेशसभाको अभ्यास सुरु भएको हो ।
प्रदेश सभाको पहिलो अधिवेशन प्रदेश नं ३ को अस्थायी राजधानी हेटौडाबाट सुरु भएको थियो भने गत माघ २१ गते प्रदेश नं २, ५, ६ र ७ मा पहिलो अधिवेशन सम्पन्न भएको थियो ।
यस्तै प्रदेश नं १ र ४ को अधिवेशन भने हिजो मात्र सम्पन्न भएको हो । पहिलो अधिवेशन सम्पन्न भएसँगै प्रदेश सभाको बैठकको अर्को कार्यतालिका सभामुख र मुख्यमन्त्री चयन रहेको छ ।
मुख्यमन्त्री तय हुन केही दिन लाग्ने भएकोले पहिलो अधिवेशनबाट प्रदेशहरुले सभामुख र उपसभामुखको निर्वाचन मिति तय गरेको छ ।
प्रदेश नम्बर १, ६ र ७ ले सभामुख र उपसभामुखको चयनका लागि आगामी माघ २९ गतेका लागि निर्वाचनको मिति निर्धारण गरेका छन् भने प्रदेश नम्बर २ र ५ मा फागुन २ गतेका लागि निर्वाचन मिति तोकिएको छ ।
यसैगरी प्रदेश नम्बर ३ मा माघ २७ गते र प्रदेश नम्बर ४ मा फागुन ३ गते सभामुख र उपसभामुखको निर्वाचन मिति तय भएको छ ।