काठमाण्डौ , २३ माघ ।
नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर बिश्वकर्मा प्रकाण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीको राष्ट्रवाद खोक्रो र मौसमी रहेको बताउनु भएको छ ।
आफ्नो नेतृत्वमा सरकार बनाउन ओली भारत गुहार्न पुगेका भन्दै प्रवत्ता प्रकाण्डले सोहि घटनाले ओलीको राष्ट्रवाद खोक्रो र मौसमी रहेको प्रष्ट पारेको बताउनु भयो ।
भारतले नेपालमाथि लगाएको नाकाबन्दीका बेला राष्ट्रियताको पक्षमा अडान लिएको भन्दै जनतामाझ आफ्नो छुट्टै पहिचान स्थापित गर्न खोजेका ओली पछिल्लो समय झनै सबैभन्दा अगाडि बढेर भारत सामु झुकेको उहाँले बताउनु भयो ।
हालै भारतीय विदेश मन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणका क्रममा ओलीले नाकाबन्दीका क्रममा बिग्रीएको सम्बन्ध सुधार्ने प्रयास गर्नुभएको थियो । स्वराजसँग भएको भेटमा भारसँग सम्बन्ध सुर्धान चाहेको भन्दै ओलीले आफ्नो नेतृत्वको सरकारलाई सहयोग गर्न आग्रह गर्नुभएके थियो ।
प्रवत्ता प्रकाण्डले नेपालमा बढ्दै गएको भारतीय हस्तक्षेप र नेपालका संसदवादी नेताहरुको आत्मसमर्पणवादी चरित्रका विरुद्ध संघर्ष गर्ने पनि बताउनु भएको छ ।
भारतीय डिजाइनमा बढ्दै गएको राजनैतिक परिघटनाहरुले मुलुकको अस्तित्व संकटमा पर्न लागेको भन्दै उहाँले यसप्रति सचेत हुन आम जनतालाई आग्रह गर्नुभयो ।
आफ्नो पद र शक्तिको दुरुपयोग गरी अवैध तरिकाबाट अकूत सम्पती आर्जन गर्नेहरु दिनहुँ बढिरहेको भन्दै उहाँले पार्टीले जारी राखेको तीन महिने जनजागरण अभियानका क्रममा उनीहरुको जनतामाझ भण्डाफोर गर्नुका साथै कारवाही पनि गर्ने बताउनु भएको छ ।