भक्तपुर, माघ २२ ।
राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणाले नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुन नसक्ने दाबी गर्नुभएको छ ।
भक्तपुरमा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष राणाले संविधानअनुसार दुई वर्षसम्म वाम गठबन्धनबाट केपी शर्मा ओलीको नेतृत्वमा सरकार सन्चालन हुने निश्चित रहेपनि पार्टी एकीकरण भने नहुने बताउनु भयो ।
उहाँले नेपाल संघीयतामा प्रवेश गरेपनि प्रान्तीय सरकारको आर्थिक भार कसरी धान्ने भन्ने कुनै योजनाबिनै अगाडि बढेकाले यसले थप समस्या निम्त्याउने बताउनु भयो ।
३ नम्बर प्रदेशको अस्थायी राजधानी हेटौंडामा राखिएपनि अरु धेरै जिल्लालाई अपायक पर्ने देखिएकाले त्यसलाई प्रदशेसभाले अन्यत्रै सार्नसक्ने उहाँको भनाई छ ।
विगतमा ओली नेतृत्वको सरकारसँग बिग्रिएको सम्बन्ध सुधारको प्रयास भारतीय विदेशमन्त्री सुष्मा स्वराजको हालैको भ्रमणले देखाएको र ओलीसमेत पछिल्लो समय भारतसँगको सम्बन्ध सुधारउन्मुख रहेको उहाँले बताउनु भयो ।