काठमाडौ, २२ माघ ।
प्रदेश नं ४ को प्रदेशसभा सभामुखको निर्वाचन आगामी फागुन ३ गते हुने भएको छ ।
आज बसेको प्रदेशसभाको पहिलो बैठकले फागुन ३ गते दिउँसो १ बजे सभामुखको निर्वाचन गर्ने निर्णय गरेको हो ।
जेष्ठ सदस्य जनकलाल श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले अन्तरिम कार्य्विधि पनि सर्वसम्मतिले पारित गरेको छ ।
५९ जना कूल सदस्य रहेको प्रदेश नम्बर ४ मा एमाले २७, कांग्रेसका १५, माओवादीका १२, राष्ट्रिय जनमोर्चका ३ तथा नयाँ शक्तिका २ जना सदस्य रहेका छन् ।
यसैबीच , ७ नम्बर प्रदेशको प्रदेशसभा सभामुखको निर्वाचन आगामि माघ २९ गते गर्नेगरि कार्यतालिका तय भएको छ । प्रदेशसभा सचिवालयले हिजो सम्पन्न प्रदेशसभाको पहिलो बैठकले गरेको निर्णयअनुसार आगामी माघ २९ गते दिउँसो १ बजे प्रदेशसभाको सभामुखको निर्वाचन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको हो ।
प्रकाशित कार्यतालिकाअनुसार प्रदेशसभाको निर्वाचनका लागि यही माघ २७ गते २ देखि ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तय गरिएको छ । सोही दिन साढे ५ बजे उम्मेदवारको नामावली प्रकाशन गर्ने जनाएको छ ।
माघ २८ गते १० बजेदेखि १२ बजेसम्म उम्मेदवारमाथि दाबी विरोध गर्ने र सोही दिन १२ देखि २ बजेसम्म उम्मेदवारमाथि परेको दाबी विरोधमाथि छानबिन गरिने कार्यतालिका छ । यसैगरी माघ २८ गते २ बजेपछि दाबी विरोधको छानबिनपछि उम्मेदवारको आन्तिम नामावली प्रकाशन गर्ने, सोही दिन २ देखि ४ बजेसम्म उम्मेदवारी फिर्ता लिने, ५ बजे अन्तिम नामावली प्रकाशन गर्ने भएको छ ।
माघ २९ गते दिउँसो १ बजे सभामुख चयनका लागि मतदान हुने कार्यतालिका प्रकाशन गरिएको ७ नं प्रदेश सचिवालयका सहसचिव मुरारी महतले जानकारी दिनुभयो । सभामुखका लागि नेकपा एमालेकी समानुपातिक सांसद पूर्णा जोशीको नाम चर्चामा छ ।
वाम गठबन्धनको बहुमत रहेको ७ नं प्रदेशसभाको मुख्यमन्त्री नेकपा (माओवादी केन्द्र)को भागमा र सभामुख एमालेको भागमा परेको छ । डोटीबाट निर्वाचित प्रदेशसभा सांसद त्रिलोचन भट्टलाई मुख्यमन्त्री बनाउने सिफारिस माओवादी केन्द्रको प्रदेश समितिको बैठकले केही दिनअघि नै गरिसकेको छ ।
त्रिपन्न सांसद रहेको यस प्रदेशमा एमालेका २५, माओवादी केन्द्रका १४, काँग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका दुई सांसदको प्रतिनिधित्व रहेको छ ।