काठमाडौं, माघ १९ ।
दुई दिने नेपाल भ्रमणका लागी काठमाण्डौ आउनु भएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले आज राष्ट्रपति , प्रधानमन्त्री तथा राजनितिक दलका शिर्ष नेतासँग भेटवार्ता गर्नुभएको छ ।
उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्वगर्दै हिजो काठमाण्डौ आएलगत्तै राजनितिक भेटवार्ता सुरु गर्नुभएकी स्वराजले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको हो ।
राष्ट्रपति भण्डारीलाई भेट्न उहाँ शीतल निवास पुग्नु भएको थियो ।
भेटका अवसरमा उहाँहरुबीच नेपाल–भारत सम्बन्धका साथै पारस्परिक हितका विविध विषयमा विचारविमर्श भएको राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माले जानकारी दिनु भयो ।
भेटमा राष्ट्रपतिको कार्यालयका परराष्ट्र मामिलाविज्ञ डा. मदनकुमार भट्टराई, राष्ट्रपतिको कार्यालयका सचिव भूपेन्ऽप्रसाद पौडेल, परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीका साथै मन्त्री स्वराजको भ्रमण दलका सदस्यहरुको उपस्थिति थियो ।
यस्तै बिदेशमन्त्री स्वराजले आजै प्रधानमन्त्री शेरबहादुर देउवासँगपनि भेटवार्ता गर्नुभयो । वालुवाटरमा भएको भेटमा स्वराजले नेपालको निर्वाचन सम्पन्न भएकोमा प्रधानमन्त्री देउवालाई बधाई दिनु भएको थियो ।
उहाँहरुबीच दुई देशबीचको सम्बन्ध बलियो बनाउन छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिनु भएको छ ।
भेटवार्ता लगत्तै विदेशमन्त्री स्वराज प्रधानमन्त्री देउवाले बालुवाटारमा आयोजना गरेको दिवा भोजमा सरिक हुनुभएको थियो ।
त्यसअघि आजै बिहान स्वराजले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नुभएको छ । राजधानीको होटल सोल्टीमा भएको भेटमा हालै सम्पन्न निर्वाचनको परिणाम, सरकार गठनको तयारी, नयाँ सरकारसँगको सम्बन्ध लगायतका विषयमा छलफल भएको बताइएको छ ।
बैठकपछि सन्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष प्रचण्डले नयाँ सन्दर्भमा मुलुकको राजनीति अब कसरी अगाडि बढ्छ भन्नेबारेमा आफुहरुबिच छलफल भएको जानकारी दिनुभयो ।
भारतीय विदेशमन्त्री स्वराजले वाम गठबन्धनले निर्वाचनमा बहुमत पाएकामा सकारात्मक रुपमा लिँएको बताउदै नेपालको राजनीतिक स्थायित्वका पक्षमा भारत रहेको बताउनु भएको थियो ।
यसअघि हिजो विदेशमन्त्री स्वराजले नेकपा एमालेका अध्यक्ष केपी ओली र संघीय समाजवादी फोरम र राजपाका नेताहरुुंग पनि भेटवार्ता गर्नुभएको थियो ।
नेपालमा निर्वाचनपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने बेलामा भएको यो भ्रमणलाई महत्वका साथ हेरिएको छ ।
उहाँ आजै अपरान्ह स्वदेश फर्कने कार्यक्रम छ । वाम गठबन्धनले नयाँ सरकार बनाउने गृहकार्य गरिरहेका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रतिनिधिका रुपमा उहाँ हिजो काठमाडौँ आउनुभएको हो ।
नेपाल भ्रमणले दुई देशको वर्षौंदेखिको सम्बन्ध थप बलियो बनाउन र आपसी हित प्रवद्र्धन गर्न भ्रमण प्रभावकारी हुने भारतीय विदेश मन्त्रालयले जनाएको छ । तर उहाँको भ्रमण बेमौसमी भएको भन्दै कुटनीतिक क्षेत्रमा आलोचना पनि भइरहेको छ ।