कसको निम्तोमा नेपाल आइन् सुष्मा स्वराज ? बोलाएरै आएकी हुन् त ! (पढ्नुस् बिस्तृतमा)

कसको निम्तोमा नेपाल आइन् सुष्मा स्वराज ? बोलाएरै आएकी हुन् त ! (पढ्नुस् बिस्तृतमा)

  • बिहिबार, माघ १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

काठमाडौँ ।शेरबहादुर देउवा नेतृत्वको सरकार काम चलाउन भइसकेको र वाम गठबन्धनको सरकार बनिनसकेको संक्रमणकालिन अवस्थामा भारतीय विदेशमन्त्री सुष्मा स्वराज बिहीबार काठमाडौँ आइपुगिन् ।

उनलाई स्वागत गर्न त्रिभुवन विमानस्थलमा अर्थराज्यमन्त्री उदय शमशेर राणा र परराष्ट्र सचिव शंकर वैरागीसहितको सरकारी टोली पुगेको थियो ।

नेपाल सरकारले कुनै औपचारिक निम्तो नदिई आएकी उनले त्रिभुवन विमानस्थलमा ओर्लिएपछि सञ्चारकर्मीसँग बोल्दै भनिन्, ‘मेरो भ्रमणको कुनै एजेन्डा छैन । म त दुई देशबीचको सम्बन्ध अझ बलियो बनाउने सांस्कृतिक भ्रमणमा आएकी हुँ ।’

गत माघ ७ गते भारतीय प्रम मोदीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई टेलिाफोन गरेर प्रधानमन्त्री बन्न लागेकोमा बधाई दिएका थिए । त्यो बेला उनले प्रधामन्त्री भएपछि भारत भ्रमणको निम्तो दिन समेत भ्याए । उनले फोनमा आफू विगतलाई भुलेर ओलीसँग नयाँ ढंगबाट सहकार्य गर्न तयार रहेको जनााउ दिएका थिए ।

त्यसअघि गत पुस २६ गते साँझ पनि ओली, माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई मोदीले फोन गरेका थिए । त्यो बेला तीन दलका शीर्ष नेतासँग टेलिफोन गरेर मोदीले नेपालमा मंसिरमा भएको निर्वाचनपछि वाम गठबन्धनले बहुमत पाएको अवस्थामा फोन गरेका थिए ।

उनले फोनका क्रममा निर्वाचन गराएकोमा देउवालाई बधाई दिएका थिए भने चुनाव जितेकोमा ओलाई पनि बधाई दिएका थिए । नेपालले आफैँ संविधान जारी गरेको रिसमा मोदी नेतृत्वको सरकारले ६ महिनासम्म गरेको नाकाबन्दीलाई बिर्सँदै पुनः नेपाललाई फकाउन थालेको कुटनीतिक संकेत दिइसकेको छ ।

एमाले र ओलीलाई प्रो चिनियाँको आरोप लगाएको भारतले एमाले र माओवादीको वाम गठबन्धनले नेपालमा बहुमत ल्याएसँगै पुनः विगत भुलेर अघि बढ्न प्रस्ताव गरेको हो । भारतको यही प्रस्तावसहित आवश्यक कुटनीतिक मर्यादा समेत ख्याल नगरी स्वराज नेपाल आएकी छन् ।

बोलाएरै आएकी हुन् सुष्मा

स्वराजको भ्रमण विशुद्ध भारतीय चहानामा भएको या नेपाल पक्षले नै उनलाई बोलाएको हो ? यसबारेमा बिहीबारै बसेको वाम गठबन्धनको बैठकमा समेत छलफल भएको तथ्य बाहिरिएको छ ।

एमाले अध्यक्ष ओलीको बालकोटस्थित निवासमा बसेको वाम एकता संयोजन समितिको बैठकमा स्वराजको नेपाल भ्रमणबारे चर्चा भएको कुरा बैठकमा सहभागी नेताहरुले नै बाहिर ल्याएका छन् ।

मोदीको फोनपछि स्वराज नेपालमा 
वाम एकता संयोजन समितिको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू, प्रचण्ड र देउवाकै आग्रहमा स्वराज नेपाल आएको उल्लेख गरेका छन् ।

स्रोतका अनुसार निर्वाचनपछि फेरिएको नेपालको परिस्थितिलाई नजिकबाट हेर्दै मोदीले नेपालका शीर्ष नेताहरुलाई पटक पटक फोन गर्दै आएका छन् । मोदीले केही दिनअघि ओली, दाहाल र देउवा एकै ठाउँ रहेका बेला फोन गरेको स्रोतले जनाएको छ । त्यो फोनवार्ता अब दुई देशको सहकार्यलाई नयाँ ढंगबाट अघि बढाउनुपर्ने प्रस्ताव मोदीले गरेका थिए ।

त्यसका लागि आफूहरु संवादमा बस्न तयार रहेको जनाउ पनि मोदीले दिएका थिए । मोदीको यो कुरा पनि नेपालका शीर्ष नेताहरुले संवाद नै गर्ने भए नेपालमै दूत पठाउन भनेको स्रोतले जनाएको छ । ‘मोदीले प्रचण्ड, शेरबहादुर र म सँग फोन गरे । हामीसँगको कुराकानीबाट यो भ्रमण तय भएको हो । मोदीसँगको कुराकानीका क्रममा हामी तीनजना सँगै पनि थियौं,’ वाम एकता संयोजन समितिको बैठकमा सहभागी एक नेताले ओलीको भनाइ उधृत गर्दै भने ।

त्यही बैठकमा सहभागी भएका एमालेका नेता सुरेन्द्र पाण्डेले पनि सुष्माको भ्रमणबारे नेताहरुबीच चर्चा भएको कुरा जानकारी दिए । ‘चुनावमा वाम गठवन्धनले जितेपछि मोदीले बधाई दिँदै फोन गर्नुभयो । मोदीले फोनमै अलिक कुरा गर्न खोजेका थिए । तपाईँहरुको कोही नेता नै यता आए हुने नि ! फोनमा के कुरा गर्ने भनेर मैले भने । त्यसपछि म विरामी भएँ । उनीहरुले कसलाई पठाउने भन्दा सुष्मालाई पठाए । अब आएपछि छलफल गर्ने, हामीलाई को भयो र ? सकारात्मक कुराकानी गर्ने’, ओलीको भनाइ उधृत गर्दै पाण्डेले भने ।

सुष्माको यो सातौँ नेपाल भ्रमण हो । उनले यो पटक बिहीबार साँझ एमाले अध्यक्ष ओलीसँग एक घण्टासम्म वान टु वान वार्ता गरिन् । त्यसपछि एमालेको टोलीसँग पनि सामूहिक वार्ता भयो । आजै राति ९ बजेदेखि उनले मधेसवादी दलका नेतासँग संवाद गरिन् ।

स्वराजले भोलि माओवादी अध्यक्ष दाहाल, राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम छ । दुई दिने नेपाल भ्रमणमा आएकी स्वराजले भोलि बिहान नै पशुपतिनाथको दर्शन गर्ने कार्यक्रम पनि तय गरिएको छ ।

काठमाडौँ आइपुगेपछि सुस्मा स्वराजले यसो भनिन्

भारतीय विदेश मन्त्री सुस्मा स्वराजले आफ्नो नेपाल भ्रमणमा कुनै नयाँ एजेन्डा नरहेको बताएकी छन् ।

दुई दिने नेपाल भ्रमणमा आएकी स्वराजले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै आफ्नो भ्रमणलाई नियमित र सद्भाव बढाउनका लागि भएको बताएकी हुन् ।

‘म कुनै नयाँ एजेन्डा लिएर नेपाल आएकी होइन’, उनले भनिन्, ‘म यसअघि पनि निरन्तर आइरहेकी थिएँ, यो पटक पनि नियमित भ्रमणका लागि आएकी हुँ ।’

उनले यो भ्रमण दुई देशबीच निरन्तरको संवादका लागि मात्रै भएको उनले बताएकी छन् । ‘मेरो भ्रमण पहिलाकै निरन्तरता हो’, उनले भनिन्, ‘यसबाट दुई देशबीचको मित्रता अझ प्रगाढ हुने विश्वास लिएकी छु ।’

ओली-स्वराज एक घण्टा वान टु वान वार्ता

नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुस्मा स्वराज र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच होटल सोलटीमा एक घण्टा लामो वान टु वान वार्ता भएको छ ।

काठमाडौँ ओर्लेपछि सीधै होटल सोल्टी पुगेकी स्वराज र वाम गठबन्धनको बैठकपछि पुगेका ओलीबीच वान टु वान वार्ता भएको हो ।

ओलीसँगको वान टु वान वार्तामा विदेशमन्त्री स्वराजले नेपालको भावी प्रधानमन्त्रीकारुपमा भारतीय प्रम मोदीको बधाई सन्देश सुनाउने कार्यक्रम थियो ।

सुस्माले भावी प्रधानमन्त्रीकारुपमा बधाई तथा शुभकामना दिएर विगतमा बिग्रेको सम्बन्धलाई ‘कोर्ष करेक्सन’ का लागि पहल गरेको बताइएको छ ।

यसअघि भारतीय प्रधानमन्त्री मोदीले टेलिफोन गरेर ओलीलाई नेपालका भावी प्रधानमन्त्री भन्दै सहकार्यका लागि आफू तत्पर रहेको प्रतिक्रिया दिएका थिए ।

ओलीले पनि त्यो बेला मोदीलाई नेपाल भ्रमणको निम्तो दिँदै मुक्तिनाथ र जनकपुर घुम्न प्रस्ताव गरेका थिए ।

यो भेटका क्रममा मोदीको तर्फबाट स्वराजले निर्वाचनमा विजयी भएको शुभकामना दिँदै चाँडै बन्ने नयाँ सरकार लागि शुभकामना दिने कार्यक्रम पनि थियो ।
ओली–स्वराज वान टु वान भेटवार्तापछि एमालेको प्रतिनिधिमण्डल र भारतीय प्रतिनिधिमण्डलबीच वार्ता भइरहेको छ । यो वार्तामा ओली र स्वराज दुवै सहभागी छन् ।-अन्नपूर्णपाेष्टबाट

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ