काठमाडौं, माघ १८ ।
दुइ दिने उच्चस्तरीय राजनीतिक भ्रमणका लागि भारतीय विदेशमन्त्री शुष्मा स्वराज आज काठमाडौं आउनु भएको छ ।
विशेष विमानबाट काठमाण्डौ आउनुभएकी स्वराजलाई त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलका विशिष्ट कक्षमा अर्थराज्यमन्त्री उदयशम्शेर राणा, परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागी, नेपालका लागि भारतका राजदूत मञ्जीवसिंह पुरी र परराष्ट्र मन्त्रालय तथा भारतीय राजदूतावासका उच्च अधिकारीले स्वागत गरेका थिए ।
भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग उहाँले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।
साथै उहाँले आपसी हितका विविध विषयमा प्रमुख राजनीतिक दलका नेतासँग विचारविमर्श गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
त्यसअघि आजै उहाँले एमाले अध्यक्ष केपी शर्मा ओली र राजपाका शीर्ष नेताहरुसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुहुनेछ । स्वराजवले पहिले आजै साझ साढे ६ बजे ओलीसँग भेटवार्ता गर्दै हुनुहुन्छ ।
उहाँहरुबीचको भेटवार्ता काठमाण्डौको होटल सोल्टिमा हुने तय भएको ओलीका प्रस सल्लाहकार चेतन अधिकारीले जानकारी दिनुभयो ।
स्वराजको उच्चस्तरीय भ्रमण टोलीमा भारतीय विदेश सचिव विजयशेखर गोखले, नेपाल मामिला हेर्ने अधिकारी लगायत उच्च अधिकारीहरु रहेका छन् ।
भारतीय विदेश मन्त्रालयले नियमित उच्च राजनीतिक भ्रमण भनेपनि नयाँ सरकार बन्न लागेको सन्दर्भमा भारतीय विदेश मन्त्रीको भ्रमणलाई महत्वका साथ हेरिएको छ ।
केही दिनअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा बधाई दिनुभएको थियो ।