काठमाडौं, १८ माघ ।
प्रदेश नं ३ को प्रदेसभाको पहिलो बैठकले प्रदेससभा सञ्चालनको लागि प्रदेशसभा कार्यसञ्चालन अन्तरिम कार्य्विधि २०७४ पारित गरेको छ ।
हैटौँडाको क्षेत्रीय शिक्षा निर्देशनालयमा बसेको बैठकले ३ नम्बर प्रदेशमा सभामुखको लागि आउँदो २७ गते ३ बजे सभामुखको चुनाव गर्ने निर्णय पनि पारित गरेको छ ।
प्रदेश सभा सञ्चालनका लागि नियमावली बनि नसकेकाले सर्वदलीय बैठकबाट प्रदेश सभा कार्यसञ्चालन अन्तरिम कार्य्विधि बनाएको थियो । सोही कार्य्विधि प्रदेश सभाले सर्वसम्मतिले पारित गरको हो ।
अब यसै अन्तरिम कार्य्विधिका आधारमा संसद बैठक चल्ने जनाईएको छ । सभामुख चयन भएपछि मात्र उपसभामुख चयन गर्ने संसदीय अभ्यास छ ।
आजको बैठकले सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठक सञ्चालनका लागि चार सदस्यीय अध्यक्ष मण्डल चयन गरेको छ । अध्यक्ष मण्डलमा रामेश्वर फुयाल, घनश्याम दाहाल, गीता वाग्ले र शोभा शाक्य हुनुहुन्छ ।
प्रदेशसभाको पहिलो बैठक भएकाले तयारी र अभ्यासमा केही अलमल देखिएएको थियो ।
संघीयता लागूपछिकै पहिलो प्रदेशसभा बैठक भएकाले बैठकस्थलमा उच्च कर्मचारी, सुरक्षाकर्मी, स्थानीय तहका प्रतिनिधि, सञ्चारकर्मीको बाक्लो उपस्थिति थियो ।
सभामुखको चयन नभइसकेकोले प्रदेशसभाको सञ्चालन ज्येष्ठ सदस्य डोरमणि पौडेलले गर्नुभएको थियो ।
बैठकमा प्रदेश नम्बर ३ बाट प्रतिनिधित्व गर्ने सबै ७ वटा दलका एक एकजना सांसदले सम्बोधन गरेका छन् ।
पहिलो बैठकमा बोल्ने प्रदेश सभा सदस्यले ३ नम्बर प्रदेशलाई नमुना प्रदेश बनाउनुपर्ने बताएका छन् । दलीय आधारमा धारणा राखेका प्रदेश सभा सदस्यले मुलुककै राजधानी भएको प्रदेशलाई नमुना बनाउनु पर्ने बताएका हुन् ।
बैठकमा अष्टलक्ष्मी शाक्य, सालिकराम जमरकटेल, इन्द्रबहादुर बाँनिया, रमेश पौडेल, रीना गुरुङ, प्रेम बहादुर तामाङ लगायतले धारणा राखेका थिए । १३ जिल्ला रहेको तीन नम्बर प्रदेशको संसदमा ८ वटा राजनीतिक दलबाट एक सय १० जनाले प्रतिनिधित्व गरेका छन् ।