काठमाण्डौ , १७ माघ ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले कम्युनिस्टहरु साम्यवादको एजेन्डा विश्वमा स्थापित गराउने अभियानमा अगाडि बढ्नु पर्ने बेलाआएको बताउनु भएको छ ।
आजको युरोप र अमेरिकामा समाजवादको नाराले नपुग्ने भन्दै उहाँले अब साम्यवादको एजेन्डा लिएर कम्युनिस्टले नयाँ यात्रा तय गर्नुपर्ने बताउनु भयो ।
नेकपा निकट मगर मुक्ति मोर्चा नेपालको केन्द्रीय कार्यालयको बैठकमा महासचिव विप्लवले नेपाललगायत अरु तेस्रो मुलुकका देशमा अब समाजवादी क्रान्तिको कार्यक्रम लिएर जानु पर्नेमा जोड दिनुभयो ।
रुसी समाजवादी क्रान्ति र चिनियाँ क्रान्तिपछि विश्वमा पुँजीवादीहरुले समाजवादका थुप्रै विशेषताहरुलाई लागू गरेर समाजवादीहरुमाथि नै प्रहार गर्ने गरेको भन्दै उहाँले अब अमेरिकी र युरोपली विश्वमा साम्यवादको एजेन्डालाई स्थापित गर्नुपर्ने बताउनु भयो ।
युरोप र अमेरिकालगायत विकसित देशमा कम्युनिस्ट आन्दोलन किन माथि उठ्न सकेन भन्ने प्रश्न आजको समकालीन विश्वमा कम्युनिस्टहरुमाथि पेचिलो बन्दै गएको भन्दै उहाँले पुँजीवादीहरुमाथि हाबी हुन कम्युनिस्टहरुले साम्यवादको कार्यक्रमलाई जोडदार रुपमा स्थापित गर्नु पर्नेमा जोड दिनुभयो । महासचिव विप्लवको यो सस्लेषणलाई बिश्व कम्युनिष्ट आन्दोलनमा स्थापित मान्यतामाथिकै नयाँ बहसको रुपमा हेरिएको छ ।
अहिले देशमा जारी कथित संघीयताले देशको समस्या समाधान गर्न नसक्ने भन्दै महासचिव विप्लवले समाजवादी व्यवस्थापछिको संघीयताले मात्र नेपालका उत्पीडित जाती र समुदायको मुक्ति हुने धारणा राख्नुभयो ।
बैज्ञानिक समाजवाद स्थापना गर्ने उदेश्यलाई केन्दभागमा राखेर पार्टी निरन्तर संघर्षमा रहेको भन्दै उहाँले अहिले जारी पार्टीको तीन महिने एकिकृत जनजागरण अभियानले जनतामा छरिएको भ्रम चिर्न सफल हुने पनि बताउनु भयो ।