काठमाडौँ , १५ माघ ।
नेपाल कम्युनिस्ट पार्टीले आजदेखि देशव्यापीरुपमा तीन महिने जनजागरण तथा भण्डाफोर अभियान सुरु गर्दै छ ।
अभियान उपत्यका सहित देशभर एकैपटक सुरु हुने छ । काठमाण्डौमा दिउँसो २ बजे शान्तिवाटिकाबाट अभियानको उद्घाटन हुने छ ।
वर्तमान देशको संकट, जनताले व्यहोरेको सास्ती र संसदवादी दलहरुको सत्तामोहलाई जनतासमक्ष ल्याउनका लागि जनताको घरदैलोमा पुग्ने गरि सुरु गर्न लागीएको देशव्यापी जनजागरण तथा भण्डाफोर अभियान मेचीदेखि महाकालीसम्म सञ्चालन हुने नेकपाले जनाएको छ ।
संसदवादी दलहरु सत्ता र सरकारको भागवण्डामा रुमलिरहेको अवस्था र देशको अस्तित्व माथि दिनप्रतिदिन बढ्दै गएको संकट, भ्रष्टाचार, कमिशन, महँगी लगायतका विषय जनतासामु पु¥याएर जनइच्छा र जनादेशमार्फत् अघि बढ्न नेकपाले उक्त अभियान सञ्चालन गर्न लागेको बताइएको छ ।
यस अभियान अन्तर्गत देशैभरिका जनतालाई देशको वर्तमान राजनीतिक अवस्था, संसदवादी दलका कारण निम्तिएका संकट, संविधान कार्यान्वयन र निर्वाचनको नाममा जनताको अधिकार खोसिएकाले उक्त अभियान सञ्चालन गर्न लागिएको नेकपाका प्रवक्ता खडग बहादुर विश्वकर्मा प्रकाण्डले बताउनु भयो ।
प्रवक्ता प्रकाण्डले पछिल्लो समय बढ्दै गएको राष्ट्रघात वैदेशिक हस्तक्षेप, दलालीकरण र दिनप्रतिदिन कष्टकर बन्दै गएको जनजीविकाका विषयमा जनतामा राजनीतिक जागरण पैदा गराउन यो अभियान सञ्चालन गर्न लागेको बताउनु भयो ।
अभियानसँगै पार्टी संगठनलाई सुदृढ गर्ने, विस्तार गर्ने, राष्ट्र र जनताको मुद्दा र जनजीविकाको मुद्दामा केन्द्रित हुँदै जनसंघर्षलाई अघि बढाउनका निम्ति पनि यो अभियान सञ्चालन गर्न लागिएको उहाँको भनाई छ ।