१२ माघ,काठमाडौँ । अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष पूर्णबहादुर सिंहले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई जनअदालतमा मुद्दा हाल्ने बताउनु भएको छ ।
नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकरीले आज संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष सिंहले माफियाहरुसँग मिलेर शैक्षिक क्षेत्रलाई व्यपार गर्ने थलो बनाउन सहयोग गरेको भन्दै मुद्दा हाल्ने बताउनु भएको हो । सिंहले दलाल संसदीय व्यवस्थाले शिक्षा क्षेत्रको माफियाहरुलाई संरक्षण गरेको बताउनु भयो ।
“यो देशमा दुईओटा सत्ता छन्, दुईओटा अदालत छन्, शैक्षिक माफिया र उनीहरुको संरक्षण गर्ने प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष प्रचण्डलगायतलाई जनअदालतमा मुद्दा हाल्छौं” सिंहले भन्नुभयो ।
अध्यक्ष सिंहले आफ्नो संगठनका सम्पूर्ण सदस्यहरु आवश्यक परे जनमुक्ति सेनामा भर्ती भएर राष्ट्रियता रक्षाको लागि बन्दुक बोक्न तयार रहेको बताउनु भयो । आफूहरु भारतले हस्तक्षेप गर्ने गरेको सीमा स्तम्भमा जाने र आवश्यक परे गोली थाप्ने उहाँको भनाई थियो ।
पत्रकार सम्मेलनमा संगठनका महासचिव दिपेन्द्र चलाउनेले आउँदो फागुनमा हुने सम्मेनल जागरण अभियान भएको बताउँदै मेचीदेखि महाकाली, हिमालदेखि तराईका सीमासम्म पुग्ने बताउनु भयो ।
उहाँले सम्मेलनका तयारीको क्रममा शैक्षिक संस्थाहरुले मनपरी गरेको शुल्कबृद्धिविरुद्ध पनि आन्दोलन गर्ने बताउनु भयो ।
संगठनको आठौं बैठकले आउँदो फागुन २७ देखि ३० राष्ट्रिय सम्मेलन दाङमा गर्ने निर्णय गरेको छ । अध्यक्ष सिंहको अध्यक्षमा २१२१ सदस्यीय मूल परिचान समिति बनाउने निर्णय गरेको छ ।
पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा उल्लेख भएअनुसार फागुन २७ गते उद्घाटन, २७ देखि २९ बन्द सत्र र ३० गते घोषणा सभा गर्ने बैठकले निर्णय गरेको छ । त्यसैगरी विभिन्न समिति पनि बनाएको छ ।
बैठकले हालै पर्सामा भारतीय साम्राज्यवादले सीमा अतिक्रमण गरेको ठहर गर्दै बैठकले घोर भत्सर्ना गर्दै सम्पूर्ण राष्ट्रघाती सन्धी सम्झौताहरु खारेजको माग गरेको छ । त्यस्तै सरकारले पेट्रोल, डिजेल, ग्याँसलगायत उपभोग्यबस्तुको मूल्यवृद्धिको खारेजीको माग समेत गरेको छ ।
बैठकले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लगायत नेताहरुलाई लगाइएको मुद्दा खारेज गर्न माग पनि गरेको छ ।