काठमाडौं, माघ १२ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचन सकिएसँगै देश आर्थिक विकास र समृद्धिको यात्रामा अघि बढिसकेको बताउनु भएको छ ।
आफ्नै निवास खुमलटारमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले स्थानीय तह , प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भई मुलुकले समृद्धितर्फको यात्रा सुरु गरेकाले अब प्राविधिक जनशक्तिको महत्वपूर्ण भूमिका हुने प्रष्ठ पार्नुभयो ।
प्रचण्डले तराई– मधेशको माग सम्बोधन गर्दै आर्थिक समृद्धिको यात्रामा अगाडि बढ्न वाम गठबन्धन तयार रहेको पनि बताउनु भयो ।
मधेशलाई सम्बोधन गर्ने कोशिसमा रहेको भन्दै उहाँले सबै कुरा शान्तिपूर्ण रुपमा, संविधानको दायराबाट पुरा गर्ने बताउनु भयो ।
मधेशलाई विकास र समृद्धि चाहिएकोले अब बन्ने बामपन्थी सरकारले त्यसमा जोड दिने धारणा उहाँको छ ।
माओवादी केन्द्रका नेता प्रभु साहले मधेशमा विद्यमान विभेद्को सम्बोधन विकास र समृद्धिबाट सम्भव हुने बताउनु भयो ।
आज राष्ट्रिय जनता पार्टी (राजपा) को विद्यार्थी संगठनका महासचिव चन्द्रभूषण साहसहित तमलोपाका पूर्व विद्यार्थी उपाध्यक्ष अजितपप्पु यादव, राजपाका विद्यार्थी सचिव ज्ञानकुमार कुशवाहा, मधेशी विद्यार्थी समाजका कोषाध्यक्ष वसन्त ठाकुरलगायतका विद्यार्थी नेता माओवादी केन्द्रमा प्रवेश गरेका थिए । पार्टी प्रवेश गर्नेमा अधिकांश इञ्जिनियरिङ क्षेत्रका विद्यार्थी रहेका छन् ।
सो अवसरमा नवप्रवेशी साहले माओवादी पार्टी नै मधेशी जनताको अधिकारको पक्षमा लड्ने भएकाले आफूहरुले पार्टी प्रवेश गरेको र निरन्तर क्रियाशील हुने बताउनु भयो ।