अछाम, माघ १२ ।
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले वर्तमान सरकारले गरेका कतिपय निर्णय असंवैधानिक र राष्ट्रहीत विपरीत भएकोले नयाँ सरकारलाई उक्त निर्णयहरु मान्य नहुने चेतावनी दिनुभएको छ ।
प्रेस चौतारी अछाम शाखाले आज साँफेबगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष रावलले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको निर्णय भावी सरकारले पुनर्विचार गर्ने बताउनु भयो ।
उहाँले सरकारले सामाजिक सुरक्षा र भूकम्पपीडितको राहतसम्बन्धी गरेको निर्णय देशलाई कंगाल बनाउने कदम भएको बताउनु भयो ।
कामचलाउमा परिणत भइसकेको र जनादेश गुमाइसकेको वर्तमान सरकारलाई त्यस्ता निर्णय गर्ने अधिकार नभएको उहाँको भनाई थियो ।
सरकारमा रहिरहन जालझेल, षड्यन्त्र, तिकडम गर्ने र त्यो सफल नभएपछि देशलाई नै कंगाल बनाउने, आर्थिक संकटमा फसाउने, प्रतिकूलता बढाउने र संचित रकम ध्वस्त पारिदिने लगायतका क्रियाकलाप गर्न नमिल्ने बताउनु भयो ।
उपाध्यक्ष रावलले देउवाले प्रदेश राजधानी तोक्ने विषयमा नागरिकमा गलत भ्रम सृजना गरेको पनि बताउनु भयो ।
प्रदेश नं ७ को अस्थायी मुकाम धनगढीमा तोक्ने विषयमा कांग्रेसका कार्यकर्ताहरुले आन्दोलन गर्नुको कुनै अर्थ नभएको पनि उहाँले बताउनु भयो ।
अहिलेको तोकिएको मुकाम अस्थायी भएकाले प्रदेश सभाको वैठकले सवै जनतालाई पायक पर्ने स्थानमा राजधानी तोक्ने उहाँले बताउनु भयो ।